९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

एकै ठाउँबाट १५ जिल्ला देखिने नुवाकोटको चिम्टेश्वरमा यस्तो बन्ने भो पार्क र भ्यूटावर (भिडियो)

-प्रशान्तजंग पाण्डे

१३ कात्तिक, नुवाकोट । नुवाकोटको बेल्कोटगढी नगरपालिकाको केन्द्रमा रहेको एकै ठाउँबाट १५ भन्दा बढी जिल्ला देखिने धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल चिम्टेश्वरमा बन्ने पार्क र भ्यू टावरको डिपिआर तयार भएको छ । प्रदेश ३ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बेलकोटगढी नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ९ र ११ नम्बर वडाले छुने चिम्टेश्वर क्षेत्रमा निर्माण हुने पार्क र भ्यू टावरको डिपिआर तयार गरेको हो । चिम्टेश्वरको विकासका निम्ति यसरी काम हुनुमा जनप्रिनिधिहरूको ठूलो योगदान रहेको छ ।

नगरपालिकाकी उपप्रमुख कविता ढुंगानाले डिआरएस, डेभलोपर्स एण्ड डिजनाइनर प्राइभेट लिमिटेडले तयार पारेको डिडेल प्रोजेक्ट रिपोर्ट समाजिक सञ्जलमामा सेयर गरेकी छिन । रिपोर्ट अनुसार पार्क एकदमै व्यवस्थित र आकर्षक हुनेछ । पार्कमा हेलिप्याडदेखि, होमस्टेदेखि छुट्टै रेष्टुरेन्ट समेत रहने परिकल्पना गरिएको छ । डाँडामा भ्यू टावर पनि निर्माण हुँदैछ । स्थानीयको दशकौँदेखिको मागका वाबजुद अहिले बनेको वमापन्थी नेतृत्वको प्रदेश तीनको सरकारले चिम्टेश्वरमा ‘भ्यू टावर’ निर्माणका निम्ति यसअघि नै बजेट विनियोजन गरेको हो ।

हेर्नुहोस् भिडियो

राजनीति गर्नेहरुकै कारण पछि पारिदै आएको ऐतिहासिकस्थल प्रचारको अभावमा ओझेलमा परेको थियो । विक्रम संवत २०७० सालमा पदयात्राका क्रममा हालका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले यो ऐतिहासिकस्थलमा एक रात विताएका थिए । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको पहलमा भएको उक्त पदयात्रामा सयौँ मानिस सहभागी भएका थिए । पदयात्राको उद्घाट काठमाडाैँको लैनचाैरमा नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष विद्यादेवी भण्डारीले गरेका थिए ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका तत्कालीन अध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी चन्द्र रिजाल चिम्टेश्वर पर्यटकीय सम्भावना बोकेर बसेपनि स्थानीय तदारुकता कम हुँदा सबैको आँखामा पर्न नसकेको बताउँछन । उनी भन्छन, यस्ता महत्वपूर्ण गन्तव्यको प्रचार र प्रवर्द्धनका निम्ति स्थानीयले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’ रिजालले चिम्टेश्वर डाँडामा एकै पटक राजनीति, कर्मचारी, सेना, प्रहरी, र सञ्चार्मीका वरिष्ठ व्यक्तिहरू  ४२५ जनालाइ टेन्टमा सुताएको बताए । उक्त पदयात्रा रानीपाैवाबाट सुरू भएर देविघाटमा समापन भएको थियो । चिम्टेश्वर पर्यटकीय क्षेत्र बन्न सक्छ भनेर पहिलो पटक रिजालकै नेतृत्वमा उक्त गतिबिधि भएको थियो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा बेल्कोट र नुवाकोट आक्रमण गर्नका लागि बेलकोट, जिलिङ, कुमारी र दुईपिपल गाउँ विकास समितिको सँगमस्थल चिम्टेश्वर महादेवस्थानसँगै गढी निर्माण गरेका थिए । त्यस गढीलाई एकीकरण अभियानमा निर्मित पहिलो गढीका रूपमा इतिहासमा उल्लेख गरिएको पाइन्छ ।

अग्लो डाँडामा सैनिकहरू लुक्न बनाईएको सुरुङका अवशेषहरूले अझैपनि एकीकरण अभियानको स्मरण गराउँछ । पृथ्वीनारायण शाहले गढी निर्माण पछि चिम्टेश्वर महादेवको आराधना गरेपछि नुवाकोट विजय गरेको जनश्रुति समेत पाईन्छ । बेल्कोटगढीबाट लाङटाङ, गणेश, जुगल र मानापाथी हिमाल तथा तिब्बतको केरुङ, काठमाडौं, मकवानपुर जिल्ला, गोरखा सम्मको दृश्यावलोकन गर्न सकिन्छ ।

तत्कालीन वागमती अञ्चलका सबै जिल्ला जनकपुर अञ्चलका दोलखा र रामेछाप, नारायणी अञ्चलका मकवानपुर र चितवन तथा गण्डकी अञ्चलका गोरखा तथा लमजुङ र तनहुका हिमालहरुको एकै स्थानबाट दृश्यावलोकन गर्न सकिने स्थानीय समाजसेवी नारायण खनाल बताउँछन ।

प्रकाशित मिति : October 30, 2019 at 6:50 pm