‘जुवा खेलेर सम्पत्ति बर्बाद गर्ने र पारिवारिक जीवन खण्डित पार्ने प्रवृति समाजका लागि घातक’
११ कात्तिक, वुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तिहारमा जुवातास खेलेर सम्पत्ति बर्बाद गर्ने र पारिवारिक जीवन खण्डित पार्ने प्रवृति नेपाली समाजका लागि घातक रहेको बताएका छन । तिहारको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना दिँदै मुख्यमन्त्री पोखरेलले परिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वहरु अहिले बोझिला र विकृति बोकेर आइरहनु नेपाली समाजका लागि चिन्ताको विषय बनेको बताए ।

उनले स्वदेश तथा विदेशमा रहेक समस्त नेपाली दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै तिहारको मौलिकता जोगाउँदै अघि बढ्दा नयाँ पुस्ताप्रति न्याय हुने बताए । उनले भनेका छन ‘चाडपर्वको नेपाली समाजमा बहुआयामिक महत्व छ । पारिवारिक मिलन र सामाजिक सद्भावका लागि चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै एकताको सुत्रमा बाँधेर समाजलाई गतिशिल बनाउनु हाम्रा चाडपर्वका विशेषता हुन् । तिहारले पनि पारिवारिक मिलन र सामाजिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तिहारको मौलिकता जोगाउँदै अघि बढ्न सक्दा यसको सांस्कृतिक महत्व उजागर हुन्छ ।’
मुख्यमन्त्री पोखरेलले सामाजिक मूल्य मान्यतालाई जोगाउँदै तडकभडक गरेर नभई मौलिक ढंगले चाडपर्व मनाउन ध्यान दिनुपर्नेमा जोड दिएका छन । उनले तडकभडकपूर्ण नभई तिहार पर्व मौलिक पहिचान जोगाउँदै पारिवारिक मिलन र सामाजिक सद्भावका रुपमा मनाउन म समस्त प्रदेशवासीमा हार्दिक अपील समेत गरेका छन । संविधानको सफल कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा मुलुक अघि बढेको भन्दै विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने लक्ष्य रहेको स्पष्ट पारेका छन । मुख्यमन्त्री पोखरेलले समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित रहेको र त्यसका लागि समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेकाे उल्लेख गरेका छन ।

प्रकाशित मिति : 09:30









