९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

डोल्पाको दुनैमा नेपाल लाइफ इन्स्योरेन्सको शाखा उद्घाटन

१० कात्तिक, डोल्पा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमका वीच डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ । उक्त औपचारिक कार्यक्रममा प्रमुख अतिथि बीमा समितिका अध्यक्ष श्री चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको विधिवत् उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकोले जोखिम बहनको साथै बचतसमेत हुने बताउनु भयो ।

देशव्यापी रुपमा जीवन बीमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पुर्याएको र डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि आफ्नाे सेवा पुर्याइरहेकोमा नेपाल लाइफलाई धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष चापागाँईले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन सुझाउनु भयो । अध्यक्ष चापागाईले बीमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बीमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको परिपेक्षमा एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बीमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान पुर्याउन सफल भएको जनाउनु भयो । साथै यो सफलता प्राप्त हुनुमा सबैको विश्वास र भरोसा रहेको बताउँदै, सो विश्वास र भरोसा सदैव कायम राख्न नेपाल लाइफ हरपल लागि पर्ने प्रमुख कार्यकारी अधिकृत झाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपालका दुरदराजसम्म पनि सहज रुपमा बीमा सेवाको पहुँच पुर्याउन सकियोस भनी डोल्पाको दुनैमा शाखा विस्तार गरिएको र नेपालभर नै सेवाको विस्तार गर्ने लक्ष्य नेपाल लाइफको रहेको प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिनु भयो । करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा रू. ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६३ हजार ९ सय ८१ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : October 27, 2019 at 10:52 am