१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व तिहारः प्रधानमन्त्री ओली

१० कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिको विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताउनुभएको छ । यमपञ्चक (तिहार) अर्थात् दिपावलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसले प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “तिहार प्रकृतिसँग र पशुपक्षीसँग मिलेको छ, काग, कुकुर, लक्ष्मी (गाई) र गोरुको पूजा गरिन्छ, त्यसैले प्रकृतिका विभिन्न पक्षबीचको सन्तुलनसमेत यस पर्वमा प्रतिबिम्वित हुन्छ ।” उहाँले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताउँदै सन्देशमा भन्नुभएको छ, “उज्यालोको चाड भएकाले यसलाई दिपावली पनि भनिन्छ, दीप अर्थात् उज्यालोको प्रतिक बत्ती बालेर चाड मनाउने गरिन्छ, तिहार सयपत्री, मखमलीलगायत पूmलहरु प्रयोग हुने चाड हो ।”

“परिवारका सदस्य खासगरी दिदीभाई–दाजुबहिनीको मिलनको चाड पनि भएकाले यसलाई उज्यालोको चाड, मिलनको चाडका रुपमासमेत लिन सकिन्छ”, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । उहाँले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : October 27, 2019 at 8:05 am