१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

जनतालाई गरिबीबाट मुक्त गराउनु पार्टीको उद्देश्य होः सांसद भुसाल

९ कात्तिक, ललितपुर । प्रतिनिधिसभाका सदस्य पम्फा भुसालले नेपाली जनतालाई गरिबीबाट मुक्ति गराउनु पार्टीको उद्देश्य रहेको बताउनुभएको छ । बडादशैँ, शुभदीपावली, नेपाल संवत् ११४०, छठलगायत चाडपर्वहरुका उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्र नं १ द्वारा आज गोदावरी नगरपालिका–३ टोखेलस्थित किटिनी कलेजमा आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ मा उहाँले गरिबीको रेखामुनि रहेका १८ प्रतिशत जनताको जीवनस्तरमाथि उठाउने विभिन्न काम गर्न आफ्नो पार्टी लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजवादको आधार तय गर्ने कडी नै सामाजिक न्याय हो, त्यसैले हामी सबै राजनीतिक दलसँग सहमति कार्यान्वयन गरेर अघि बढ्ने तयारीमा छौ ।” अब सबै पार्टी मिलेर मुलुकमा आर्थिक विकास र समृद्धि बढाउने प्रतिस्पर्धा गर्न उहाँले आग्रह गर्नुभयो । सांसद नवराज सिलवालले जनतालाई सुख र समृद्धि दिलाउन दिनरात आफ्नो पार्टी लागिरहेको उल्लेख गर्नुभयो ।

प्रदेशसभा सांसद चेतनाथ सञ्जेलले सबै पार्टी एकजुट भएर देश विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य लालकुमारी पुनले नजिकै आएका चाडपर्वले मुलुकमा परिवर्तन र ऊर्जा प्रदान गर्न सहयोग गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । नेकपाका ललितपुर जिल्ला इन्चार्ज हरि दाहालले चाडपर्वले नेपालीलाई एकताबद्ध गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपाकी केन्द्रीय सदस्य सुशीला नेपालले सबै राजनीतिक शक्ति मिलेर न्याय र समतामूलक समाज निर्माण गर्ने सङ्कल्प लिनुपर्नेमा जोड दिनुभयो । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले नजिकै आएको चाडपर्वले सो क्षेत्रको नागरवासीबीच भेटघाटको अवसर जुटाई दिएकामा धन्यवाद व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : October 26, 2019 at 8:02 pm