९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

मुलुक विकास र समृद्धिको नयाँ युगतर्फः अध्यक्ष प्रचण्ड

९ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतर्फ जाने प्रक्रियामा रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका वडा नं १५ तीनथानामा आज आयोजित ‘वडाध्यक्ष शैक्षिक विकास कोषको दोस्रो वार्षिकोत्सव सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले प्राथमिकता निर्धारण गरेर मुलुकको समृद्धिको यात्रा तय गरिएको बताउनुभयो ।

शिक्षा क्षेत्र विकसित मुलुकको प्राथमिकतामा रहेको उदाहरण पेश गर्दै उहाँले अबको लगानी शिक्षा क्षेत्रमा गरिनुपर्नेमा जोड दिनुभयो । “अबको लगानी शिक्षामा हुनपर्छ, शिक्षा नीति निर्माण गर्दा ध्यान दिनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “अहिले हाम्रो पार्टी र सरकारले शिक्षामा लगानी वृद्धिका साथै शिक्षा नीतिमा आमूल सुधार गर्ने तयारी गरेको छ ।”

निर्वाचनका क्रममा चुनावी घोषणापत्रमा भनिए जसरी नै शिक्षामा लगानी अभिवृद्धि गर्न नसकेको उहाँले बताउनुभयो । “शिक्षामा जति लगानी गर्नुपर्ने हो त्यो अझै पुगेको छैन”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “नीतिगत सुधार जति गर्नुपर्ने हो त्यति भएको छैन, अझै नीतिगत सुधारको आवश्यकता छ ।” शिक्षा क्षेत्रको सुधारबाट नै नयाँ युगको शुरुआत हुने बताउँदै उहाँले शिक्षामा जागरण नल्याई समृद्धि सम्भव नहुने प्रष्ट पार्नुभयो । जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई नियोजित ढङ्गबाट प्रहार गर्न नेतृत्वविरुद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै उहाँले त्यस्ता षड्यन्त्रलाई जनताको शक्तिले पररास्त गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले दुई पार्टीबीचको एकता प्रक्रियाबाट संसारभरका कम्युनिष्ट पार्टीले पाठ सिक्नुपर्ने बताउनुभयो । “नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासबाट संसारभरका कम्युनिष्टले सिक्नुपर्छ”, उहाँले भन्नुभयो, “जनयुद्धबाट उदाएको तत्कालीन नेकपा (माओवादी केन्द्र) र शान्तिपूर्ण राजनीतिमा रहेको तत्कालीन नेकपा (एमाले) बीचको एकता ऐतिहासिक रहेको छ ।”देश र जनताको समृद्धिका लागि दुई पार्टी एक भएको उल्लेख गर्दै उहाँले ढिलै भए पनि एकताका क्रममा बाँकी रहेको विषय छिट्टै टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : October 26, 2019 at 7:50 pm