१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

नेकपाको एकतालाई आँखाको नानी जस्तै बचाउनुपर्छः अध्यक्ष प्रचण्ड

८ कात्तिक, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पद्धतिमा चल्न सक्यो भने कसैले पनि पराजित गर्न नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङ जिल्ला कार्य समितिद्वारा आज यहाँ आयोजित शुभाकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  विचार, सङ्गठन, भावना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा पार्टी एकीकरण भएको चर्चा गर्दै उहाँले पार्टी एकीकरणले देश र देश बाहिर पनि उत्साह बढाएको छ भन्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको उदाहरण दिँदै अध्यक्ष दाहालले आन्तरिक एकता र अनुशासनले नै देश विकसित भएको चर्चा गर्नुभयो । उहाँले नेताहरुलाई फुटाउन चलखेल नभएका होइनन् भन्दै एकतालाई सुदृढ र रक्षा गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले आँखाको नानी जस्तै एकतालाई बचाउनुपर्ने र समाजवादका आधारमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले जीत र हारको अवस्था के हुन्छ भन्ने विगतका दिनलाई सम्झन आग्रह गर्दै पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ र विकसित हुँदै गएको छ भन्नुभयो । चीनमा पार्टी विरोधी क्रियाकलाप गर्नेलाई पार्टीबाट निष्काशन गर्ने गरेको इतिहास कोट्याउँदै अध्यक्ष दाहालले विचार मिलेर भएको एकीकरणले पार्टी शान्ति, प्रतिस्पर्धा र समाजवादको बाटोमा हिँड्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले जनताको सुख र खुशीका लागि घरदैलोसम्म पु¥याउन दत्तचित भएर काम गरिरहेको छ भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं १ इन्चार्ज भीम आचार्यले सङ्घीयता विकासको आधार भएकाले कम्युनिष्ट एक भएर अघि बढ्नुपर्छ भन्नुभयो ।

प्रकाशित मिति : 21:45