१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

नाम सम्मेलानमा सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

७ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गर्नुभएकाे छ । असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार कतार एयरवेजको जहाजबाट अजरबैजानको बाकु प्रस्थान गर्नुभएकाे हाे । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत पनि बाकु प्रस्थान गर्नुभएके छ ।

प्रधानमन्त्री ओलीले कात्तिक ८ गते शुक्रबार नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्तमात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

सोही दिन साँझ अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष/सरकार प्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा प्रधानमन्त्री ओली सरीक हुनुहुनेछ । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनअघि कात्तिक ६ र ७ गते हुने मन्त्रिस्तरीय पूर्वतयारी बैठकको प्रतिवेदनमा आधारित हुँदै भेनेजुएलामा सन् २०१६ मा सम्पन्न १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गर्दै सम्मेलनले बाकु घोषणापत्र जारी गर्नेछ ।

नामको संस्थापक राष्ट्रको हैसियतमा नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : 12:37