७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

अन्तर्राष्ट्रिय समुदायद्वारा नेपालको संविधानको सराहनाः प्रधानमन्त्री ओली


६ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अङ्गीकार गरेका व्यवस्थालाई उत्कृष्ट ठहर्याउँदै अन्तर्राष्ट्रिय समुदायले त्यसको सराहना गरेको बताउनुभएको छ । नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसीसिल्भर अवार्ड–२०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आज बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, समानता तथा भेदभावरहित समाज निर्माणका विषयलाई अन्तर्राष्ट्रियरुपमा पहिचान गरी सम्मान गर्नु नेपालको सफलता भएको जानकारी गराउनुभयो ।

“हामीले तय गरेको राष्ट्रिय आकाङ्क्षा र सामाजिक व्यवस्थालाई पहिचान गरेका हौ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायले भर्खर नेपालको उपलब्धिलाई पहिचान गर्न थालेको छ । भोलीका दिनमा नेपालको संविधानले अझ ठूला सम्मान प्राप्त गर्नेछ ।”

 

प्रधानमन्त्री ओलीले युवा परिचालनसम्बन्धी कानूनी व्यवस्था र त्यसको व्यावहारिक पक्षलाई समेत मूल्याङ्कन गरेर यो अवार्ड नेपालले प्राप्त गरेको जानकारी दिनुभयो । संविधानमा युवा सहभागिता, सशक्तीकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चितता लगायतका कानूनी व्यवस्था उदारणीय भएकोले नेपाललाई सो अवार्ड दिइएको वल्र्ड फ्युचर काउन्सिलले उल्लेख गरेको छ ।

युवाका लागि राष्ट्रिय युवा नीति निर्माण गरी राष्ट्रिय युवा परिषद् गठनलाई पनि नेपालको युवा अधिकारबारेको उपलब्धि भनिएको छ । सर्बियाको राजधानी बेलग्रेडमा हालै आयोजित अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयसु)को १४१औँ सम्मेलनमा नेपालको संविधानले शान्तिपूर्णरुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदान गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

आइपियु, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी) र वल्र्ड फ्युचर काउन्सिलद्वारा गठित निर्णायक मण्डलले नेपाललगायत अन्य आठ देशलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो । सो अवार्ड आइपियुमा सहभागी नेपालको सङ्घीय संसद्को प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमकाबीच ग्रहण गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार २०:०५