९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

नेपाली सेनाकाे भर्ना छनौटमा अनियमितता गर्ने २७ जना सैनिक तथा गैरसैनिकमाथि कारवाही

६ कात्तिक, काठमाडौँ । नेपाली सेनाको भर्ना छनोटका क्रममा आर्थिक लेनदेन गर्ने तथा नक्कली परीक्षार्थी बनेका २७ जनालाई सेनाले कारवाही थालेको छ । तीमध्ये ४ जना सैनिक र बाँकी गैरसैनिक रहेको नेपाली सेनाले जनाएको छ । गत साउनमा नेपाली सेनाले विभिन्न ४० वटा भर्ना केन्द्रहरुमा ५ हजार ८ सय सैन्य पदको भर्नाका लागि आवेदन मागेको थियो ।

नेपाली सेनाको भर्ना केन्द्र श्री उत्तरपश्चिम पृतना हेडक्वाटरमा भएको सैन्य भर्ना प्रक्रियामा नक्कली परिचय पत्र बनाई किर्ते गरेको आशंकामा ३ जना र श्री नं.५ बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा १ जना सैनिकलाई सैनिक निगरानीमा राखी अनुसन्धान शुरु गरेको सेनाले जनाएको छ ।

सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ६ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ भने संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सुचना कार्यालले जनाएको छ ।

यसैगरी सैन्य भर्ना केन्द्र श्री नं.२४बाहिनी अड्डा, जुम्ला तथा श्री नं.५ बाहिनी अड्डा, कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाएका ४ जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको सेनाले जनाएको छ । अन्य ३ भर्ना केन्द्रहरुमा आर्थिक लेनदेनमा संलग्न ४ जना गैर सैनिक व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान थालेको सेनाले जनाएकाे छ ।

प्रकाशित मिति : October 23, 2019 at 12:02 pm