७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

सिस्नुको पाउडर बजारीकरणमा महिला सक्रिय

५ कात्तिक, मेलम्ची । इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर्न महिला एकजुट भएका छन् । कुञ्चोकका महिलाले बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले खेतबारीका केही भागमा सिस्नुलाई व्यावसायिकरूपमा लगाएका हुन् । कुञ्चोक जौडाँडाकी निर्मला सुनारले सिस्नु खेती व्यावसायिकरूपमा विकास भएको सुनाउनुभयो । शुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप दिएपछि अन्य महिला पनि यसतर्फ आकर्षित भएका उहाँले बताउनुभयो ।

“अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौँ, चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो । अहिले स्थानीय नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ । माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । धेरै लगाएर सिस्नु बेच्ने भन्ने छलफल सहकारीमा चलेपछि महिलाले यसको खेती शुरु गरेका हुन् ।

सिस्नुलाई पाउडर, हरियो सिस्नुदेखि सिस्नुबाट बन्ने अनेक परिकारको उत्पादन गर्ने गरेको जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रति थापामगरले बताउनुभयो । “यसलाई नाम दिएर राजधानीलगायत अन्य स्थानमा पु¥याउने लक्ष्य राखेका छौँ”, अध्यक्ष थापामगरले भन्नुभयो, “यसका लागि गाउँपालिकामा कुरा गरेका छौँ ।”

सिस्नु उत्पादन र बिक्रीका बारेमा शुरुमा १० जना महिलाले कृषि उत्पादनमा सिस्नुलाई रोजेका हुन् । अहिले गाउँका अन्य महिलाले समेत सिस्नु खेती गरेका छन् । “सिस्नु उत्पादन गर्न थालेयता हाम्रो छुट्टै पहिचान बनेको छ”, सहकारीका अध्यक्ष थामामगरले भन्नुभयो । सिस्नुबाट महिला समूहले अहिलेसम्म मासिक रु १५ हजारसम्म आम्दानी गर्दै आएको छन् ।

“उत्पादन धेरै ठूलो परिणाममा हुने थालेपछि बजारको खोजीमा छौँ”, व्यावसायिक सिस्नु खेतीमा रमाएउनुभएकी सुन्तली नेपालीले भन्नुभयो, “त्यत्तिकै खेर गइरहेको सिस्नुबाट घर खर्च चल्ने रहेछ ।” वरिपरि यत्तिकै उम्रिरहेका सिस्नुलाई पनि त्यत्तिकै खेर जान दिनुभन्दा बजारीकरण गर्नमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

अक्सफाम र महिला आत्मनिर्भरता केन्द्रले सिस्नु धुलो पार्ने मेसिन दिएपछि महिलाहरूले यो खेती शुरु गरेका हुन् । गाउँपालिकाले सिस्नु उत्पादनलाई ‘अग्र्यानिक सटिफिकेसन’ गर्ने र ब्रान्ड बनाउनेबारे छलफलमा राखेको छ । चालू आर्थिक वर्षमा रु ४८ लाख कृषिमा बजेट छुट्याएको गाउँपालिकाले क्याण्डी, सिस्नुजस्ता नमूना उत्पादनलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो ।

प्रकाशित मिति : October 22, 2019 at 11:09 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/