९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

तनहुँमा चितुवाले बालबालिकामाथि आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि विशेष सुरक्षा दस्ता माग

५ कात्तिक, दमौली । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरिएको छ । चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट प्रयास भए पनि नियन्त्रणमा गर्न नसकिएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक र स्थानीयवासीको पहलमा पनि चितुवा नियन्त्रण सम्भव नभएपछि डिभिजन वन कार्यालयले विशेष सुरक्षा दस्ता खटाउन अनुरोध गरेबमोजिम गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले विशेष सुरक्षा दस्तामार्फत् चितुवा नियन्त्रणमा लिइने भएकाले यसमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । चितुवा नियन्त्रणका लागि नगरपालिकाका सामुदायिक वनमा एघार वटा खोर राखिएको छ । “खोर राखेपनि चितुवा नियन्त्रण हुन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “चितुवा नियन्त्रणमा नआउँदासम्म स्थानीयवासीले सचेतना अपनाउनुपर्छ ।”

खाने आहारा जङ्गलमा पाउन छाडेपछि बस्तीनजिकै आहाराको खोजीमा आउने गरेकाले चितुवाले बालबालिकामाथि आक्रमण गरेको बरालको भनाइ छ । “साँझको समयमा बालबालिकालाई जोगाउन आवश्यक छ,” बरालले भन्नुभयो, “घरनजिकैको झाडी सरसफाई, घरबाहिर बत्ती लगायतको व्यवस्था गर्न सकिए आक्रमणबाट केही हदसम्म बच्न सकिन्छ ।”

चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा सो नगरपालिकाका वडा नं १, २, ३ र ४ का पाँच बालबालिकाको मृत्यु भइसकेको छ भने चार जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते वडा नं ३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते वडा नं ४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते वडा नं २ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते वडा नं २ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : October 22, 2019 at 9:43 am