२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नेपाल र चीनबीचको असल र मैत्रीपूर्ण सम्बन्ध सीको भ्रमणपछि थप उचाइमाः उपप्रधानमन्त्री पोखरेल

३ कात्तिक, काठमाडाैँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील¸ शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित रहेको बताएका छन । चीनका रक्षामन्त्री जनरल वे फेन्घेसँगको भेटवार्ताका क्रममा उपप्रधानमन्त्री पोखरेलले अाइतबार नेपाली सेनालाइ सहयोग गर्ने सम्बन्धी सम्झाैतामा हस्ताक्षरपछि नेपाल र चीनबीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई भर्खरै सम्पन्न चीनका महामहिम राष्ट्रपतिको नेपालको राजकीय भ्रमणबाट थप उचाइमा पु¥याउन र दुई देशबीच सम्पर्क र सहयोग विस्तार गर्न योगदान गरेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले भने, ‘नेपाल–चीनबीचको मित्रतालाई प्रवर्द्धन गर्ने कुरा दुई देशका जनताको विकास, समृद्धि र पारस्परिक हितलाई प्रवद्र्धन गर्ने साझा उद्देश्यमा केन्द्रित छ । नेपाल एक चीननीतिको पक्षमा सदैव प्रतिबद्ध छ । पोखरेलले नेपालले आफ्नो भूमि तथा सीमा नाकामा छिमेकी मुलुकहरूविरुद्ध कुनै पनि गतिविधि हुन नदिने नीति दृढताका साथ अवलम्बन गर्दै आएको पनि बताए ।

भेटवार्ताका क्रममा चीनका रक्षामन्त्री जनरल वे फेन्घेले नेपाल र चीनबीच प्राचीनकालदेखि नै सुमुधर, मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध रहेको कुरा स्मरण गर्दै भने, ‘उहानमा आयोजित सातौँ मिलिटरी वल्र्ड गेम र बेइजिङ्गमा आयोजना हुन गइरहेको नवौँ जिङसान फोरममा नेपालबाट उच्च स्तरमा भएको सहभागिताका लागि चीन सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’ नेपालको आर्थिक, सामाजिक तथा सैन्य क्षेत्रको विकासका लागि सहयोग उपलब्ध गराउन पाएकोमा चीनको तर्फबाट प्रसन्नता व्यक्त गर्दै उनले भने, ‘चीनको जनमुक्ति सेना र नेपाली सेनाबीच अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको छ । नेपाली सेनाको क्षमता विकासका लागि चीन सरकार सदैव सकारात्मक छ ।’

चीनियाँ रक्षामन्त्रीले वार्ताका क्रममा चीनका राष्ट्रपतिबाट हालसालै भएको नेपालको राजकीय भ्रमणले दुई मुलुक बीचको सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउन सहयोग पुगेको विचार व्यक्त गरेका थिए । भेटवार्ताको अन्त्यमा रक्षामन्त्री पोखरेलले चीनका रक्षामन्त्रीलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा दिए । चीनका रक्षामन्त्रीले उक्त निमन्त्रणा सहर्ष स्वीकार्दै भ्रमणका लागि सकारात्मक रहेको र उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १६:१२