८ माघ २०८१, मंगलवार | Tue Jan 21 2025

कांग्रेसको नाममा एनआरएनको अध्यक्ष हुन नसकेपछि कुल आचार्यले भने ‘व्यापक धाँधली भो’

१ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसको नाममा प्यानल बनाएर गैर आवासीय नेपाली संघ (एनआरएन)को चुनावी मैदानमा गएर पराजय व्यहोरेका वेलायतका कुल आचार्यले चुनावमा धाँधली भएको गुनासो गरेका छन । शुक्रबार एक विज्ञप्ति नै निकालेर आचार्यले निर्वाचनमा व्यापक धाँधली भएको दाबी गरेका छन । उनी एनआरएनको नवौं सम्मेलनमा नेकपा निकटका कुमार पन्तसँग भारी मतान्तरले अध्यक्षमा पराजित भएका थिए ।

अध्यक्षमा निर्वाचित कुमार पन्त ।

सुरूमा पन्तले सहमतिको विषय उठाउँदा आचार्यले नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतसँगको समन्वयमा कांग्रेस निकटका व्यक्तिहरू राखेर प्यानल नै बनाएका थिए । आचार्यको प्यानलले मतपरिणाममा नमिठो पराजय व्यहोरेको छ । उनको प्यानल जिताउन हायात परिसरमा कांग्रेस सहमहामन्त्री महतको नेतृत्वको नेताहरूको ठूलै टिम परिचालित भएको थियो । यद्यपी चुनावी नतिजा कांग्रेसले चाहेको जस्तो अाएन । नतिजापछि आचार्यले शुक्रबार दिउँसो एउटा विज्ञप्ति मार्फत षड्यन्त्र र धाँधली गरेर चुनाव हराइएको बताएका हुन ।

अध्यक्षमा पराजित कुल अाचार्य ।

उनले निर्वाचन प्रक्रिया सुरु भएपछि एनसीसी बेलायतमै विवादमा फसाउन खोजिएको जनाउँदै आफूलाई हराउन काठमाडौंको सचिवालयमा व्यापक अनियमितता भएको जिकिर गरेका छन्। उनले पन्तलाई जिताउनका लागि अन्तिम मतदाता नामावली प्रकाशन नगरि उम्मेदवारी दर्ता गरिएको पनि दाबी गरेका छन्।  उनले भनेका छन  ‘धेरै फर्जी मतदाता तयार गरियो। चुनाव भइसकेपछि खसेको मतको विवरण सार्वजनिक गरिएन। बिनामुचुल्का मतगणना सुरु गरियो। बहालवाला निर्वाचित जनप्रतिनिधि जापानको प्रतिनिधि बनेर मतदान गरेको भेटियो’, उनले भने, ‘नेपाल फर्किसकेका सयौं व्यक्तिलाई मतदाता नामावलीमा समावेश गरी मतदान गर्न लगाइयो। यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ। कानुनी प्रक्रियामा जान सक्ने हुँदा पनि एनआरएनएको बृहत्तर हितका लागि यो परिणाम स्वीकार्छु।’

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार १९:३२