दाङबाट पक्राउ परेका विप्लव समूहका २१ जना नेताकै नाम सार्वजनिक
३० असोज, तुलसीपुर । दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर -सुवास), राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन, जंगली), बुद्धिजीवि सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी पनि पक्राउ परेका छन् ।
त्यस्तै, क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, रोल्पा सदस्य पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पक्राउ परेका छन् ।
उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, दाङमा ल्याएको छ । समूहको राप्ती ब्युरो बैठकमा घेराबन्दी गरेर प्रहरीले २१ जनालाई पक्राउ गरेको थियो । त्यसक्रममा महत्वपूर्ण दस्तावेज, हतियार, चन्दा संकलन गरिएका रसिद लगायत बरामद भएको छ ।
प्रकाशित मिति : 12:31









