२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सुर्खेत–हिल्सा सडक निर्माणमा चीनको सहयोगः मन्त्री ज्वाला

२८ असोज, काठमाडाैँ ।  कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सुर्खेत–हिल्सा सडक आयोजना निर्माणका लागि चीनले सहयोग गर्ने बताउनुभएको छ । नीतिगत रुपमा चीनले सहयोग गर्ने गरी आयोजना निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री ज्वालाले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणले कर्णालीको विकासमा अवसरको ढोका खोलेको बताउनुभयो । “सुर्खेत–हिल्सा सडक निर्माण कर्णाली सरकार गठनसँगैको प्रतिबद्धता हो”, उहाँले भन्नुभयो, “यस विषयमा हामीले सङ्घीय सरकारसँग पनि कुरा राख्दै आएका थियौँ ।” सडक निर्माणका लागि चाइना रेल्वे कम्पनीसँग सम्झौता भइसकेको मन्त्री ज्वालाले बताउनुभयो ।

सुर्खेतदेखि हिल्सासम्म निर्माण गर्न लागिएको सो सडकको लम्बाइ ४०३ किमी छ । रु ५० अर्बको लागतमा उक्त आयोजना निर्माण गरिने उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सिबीचको भेटवार्तामा सुर्खेत–हिल्सा सडक निर्माणको विषयलाई पनि उठाएको हुँदा निर्माण गर्न सहयोग हुने निश्चित भएको मन्त्री ज्वालाले बताउनुभयो । सम्झौताले सम्भावनाको ढोका खुलेको भन्दै मन्त्री ज्वालाले यसलाई कर्णाली सरकारले अति प्राथमिकता दिएर अघि बढेको बताउनुभयो । “यसलाई सुर्खेत–हिल्सा फास्ट ट्र्याकको रुपमा विकास गर्छाैँ”, उहाँले भन्नुभयो । रासस

प्रकाशित मिति : 21:06