७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

१३ जनालाई जिउँदै जलाउने आलमको रिहाइ माग गर्दै कांग्रेस सडकमा

२७ असाेज, राैतहट । १३ जनालाई जिउँदै जलाउने कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमको रिहाइ माग गर्दै कांग्रेस सडकमा उत्रिएकाे छ । सोमबार बिहानदेखि आलम पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले  विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेकाे र कतै बाटाे नै अवरूद्ध  पारेकाले जिल्लाभरि सुरक्षाव्यवस्था कडा बनाइएको प्रहरीले जनाएकाे छ ।

बम विस्फोटमा परेर घाइते भएका १३ जनालाई इटाभट्टामा जलाएर मारेको आराेपमा प्रहरीले आलमलाई आइतबार बिहान पक्राउ गरेको थियो । उनी पक्राउ परेको केही समय पछि कांग्रेस कार्यकर्ता प्रहरी कार्यालय अगाडि बसेर विरोधको तयारी गरेका थिए । भीड बढ्न थालेपछि प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेर भिडलाइ तितर बितर पारेकाे थियाे ।

बिहानदेखि सदरमुकाम गौरका विभिन्न स्थानमा कार्यकर्ताले टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले सुरक्षाकर्मिको अवस्था हेरेर बाटो अवरुद्धको प्रयास गरिरहेका छन् । तत्कालै सुरक्षाकर्मी पुगेर बाटो खुलाएका छन् । जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले सांसद आलम पक्राउको विरोधमा कार्यकर्ताहरुले केहीस्थानमा टायर बालेर बसेको बताए । गौरको बसपार्क, सबगढा, राजपुर फरदहवा, जयनगर, कोपवा लगायतका स्थानमा आलम समर्थकले टायर बालेर विरोध गरिरहेका छन्

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार १२:५०