१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसको चियापानः चिनियाँ राष्ट्रपति सीको भ्रमण सफल भएको भन्दै सरकारको प्रशंसा (फोटोफिचर)


२६ असोज, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आइतबार कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायतका नेताले स्वागत गरेका थिए । कार्यक्रम दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, समाजवादी पार्टीका नेता एवम पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेकपा (माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिएका थिए । शीर्ष नेताहरुले दशैँलगायत पर्वहरुको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना दिनुका साथै समसामयिक राजनीतिक विषय र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण सफल भएको भन्दै सरकारको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार २२:०७