नेकपालाई जनता, पार्टी र सरकारबीच समन्वयात्मक सम्बन्ध अगाडि बढाउन सीको सुझाव
२६ असोज, काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले जनता, पार्टी र सरकारबीच समन्वयात्मक सम्बन्ध अगाडि बढाउन नेकपाका नेताहरूलाई सुझाव दिएका छन । नेकपाका शीर्ष नेताहरूसँको भेटवार्ताका क्रममा राष्ट्रपति सीले जनता, पार्टी र सरकारबीचको समन्वयात्मक सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको भेटपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सीले आत्मअनुशासन बलियो बनाउन पनि नेकपा नेताहरुलाई सुझाव दिएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो रहेको भन्दै उनले नेकपामा पनि आत्मअनुशासन बलियो हुनुपर्ने बताए । सीले नेपालको विकासलाई नजिकबाट नियालिरहेको र त्यसमा सहयोग गर्न चीन प्रतिबद्ध रहेको बताए । उनले सन् १९४९ मा शक्ति आर्जन गरेपछि मात्रै चीनले विकास गरेको नभइ समयानुकुल जनतासँग जोडिएर विकास गरेको बताए ।

यस्तै छलफलका क्रममा नेकपा अध्यक्ष प्रचण्डले शब्दमा मात्र नभइ एक चीन नीतिप्रति नेपाल व्यवहारिक रुपमा प्रतिबद्ध रहेको बताए । उनले चीनको विकासबाट नेपाल लाभान्वित हुन चाहेको भन्दै प्रचण्डले पार्टीस्तरमा पनि सहयोग विचार आदानप्रदान हुनुपर्नेमा जोड दिए । भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी थिए। सो भेटमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन् ।
प्रकाशित मिति : 12:29









