नेपालका लागि सीका सात प्रतिवद्धता, रेलदेखि सुरूङसम्म
२६ असोज, काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्धिपक्षीय भेटवार्तामा नेपालको दीर्घकालीन हितमा हुने केही विषयमा प्रतिवद्धता जाहेर गरेका छन । उनले नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताए ।

त्यस अवसरमा चिनियाँ राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको बताउँदै नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी उपलब्ध गराइने जानकारी दिए । उनले गरीबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव सिक्न सकिने बताउँदै चीनमा यस्तो कार्य उद्देश्यअनुरुप भएको र ८० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको तथा सन् २०२० मा गरीबी पूर्ण उन्मूलन गर्ने लक्ष्य लिइएको जानकारी दिए ।उनले हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माणका लागि काम गरिने स्पष्ट पारे । सीले चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रुपमा काम गर्न सकिने बताए ।
यी हुन सात प्रतिबद्धता
१. नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ–सहयोग रहनेछ ।
२. बढी नाकाहरु खोलेर बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नेछौं ।
३. केरुङ–काठमाडौँ सुरुङमार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हुनेछौं ।
४. अरनिको राजमार्ग सञ्चालन सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नतिका लागि सहयोग गर्नेछौं ।
५. हाम्रो साझा हिमालय क्षेत्र रक्षा गर्न सदा तत्पर रहनेछौं ।
६. हामीले बनाएका योजना पूरा गरेरै छाडौं, चीनमा पनि यस्तै गरेका छौं ।
७. चीन र नेपालको सम्बन्धमा समस्या छैन, मित्रता मात्रै छ ।
उनले नेपालले जलवायु परिवर्तनबाट भोगेको समस्याबारे चीनले जानकारी पाएको र समस्या समाधान गर्न संयुक्त रुपमा काम गर्न सकिने बताउँदै हिमाली क्षेत्रका बासिन्दालाई सरलरुपमा पुनःस्थापना गरी उनीहरुको जीवनस्तर उकास्न सकिनाका साथै सगरमाथाको उचाइ मापन संयुक्त रुपमा गर्न सकिने उल्लेख गरे । सीले नेपाल भ्रमण वर्ष प्रवद्र्धन गर्न अभिप्रेरणा प्रदान गर्ने, राजनीतिज्ञ, सांसद र आमसञ्चारमा आदानप्रदान गर्न सकिने तथा सांस्कृतिक आदानप्रदान गरिने जानकारी पनि दिए ।

यस्तै राष्ट्रपति भण्डारीले चीनसँग भएका सम्झौता तथा समझदारीबाट नेपालले तेस्रो मुलुकसम्म सरल पहुँच प्राप्त गर्नसक्ने थप आधार विकास भएको बताइन । भण्डारीले आफ्नो चीनको राजकीय भ्रमणका क्रममा भएको दोस्रो ‘क्षेत्र तथा मार्ग मञ्च’ (बिआरआइ) को सफलतापूर्वक समापन भएकामा प्रशंसा गर्दै मञ्चको निर्णयमा हिमालपार अन्तरसीमा बहुआयामिक सम्पर्क सञ्जालको उल्लेख भएको र त्यसबाट रेलमार्ग, सडक, सुरुङजस्ता पूर्वाधार विकास हुने विश्वास व्यक्त गरिन ।

जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्रपति सी तथा चिनियाँ जनतालाई बधाई व्यक्त गर्दै उनले चीनको युगान्तकारी परिवर्तन, प्रगतिशील सुधार र प्रभावकारी सुशासन हासिल गरेको बताइन । राष्ट्रपति भण्डारीले नेपालमा निर्वाचनपछि स्थायी सरकारको स्थापना भएको र वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न प्रयास गरिरहेको जानकारी दिँदै नेपाललाई सन् २०३० भित्रै अतिकम विकसित मुलुकबाट मुक्त गरी मध्यम आय भएको अर्थतन्त्रयुक्त मुलुक बनाउने सरकारको प्रयास भइरहेको उल्लेख गरिन ।
प्रकाशित मिति : 09:50









