१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

नेपाली जनताले केरुङदेखि लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेका छनः राष्ट्रपति भण्डारी

२५ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी छिन । शनिबार काठमाडौँको होटल सोल्टीमा चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित राजकीय भोजअघि सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताइन ।

राष्ट्रपति भण्डारीले नेपाली जनताको चाहना चाँडै पूरा हुने पनि विश्वास समेत व्यक्त गरिन । भण्डारीले नेपाल भ्रमण वर्ष २०२० सम्पन्न गर्नका लागि चीनका तर्फबाट महत्वपूर्ण सहयोग हुने अपेक्षा समेत गरिन । उनले चिनियाँ लगानीका लागि आग्रह गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताइन । भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताइन । उनले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको उल्लेख गरिन ।

 राष्ट्रपति भण्डारीले भनिन्, “पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ ।” उनले नेपाल र चीनबीचको सम्बन्ध हिमाल तथा नदीहरुद्वारा जोडिएको, दुई देशबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु, फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको स्मरण गरिन ।

प्रकाशित मिति : 21:22