२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

नुवाकोटको बेलकोटगढीमा दलित, जनजाति र ब्राम्हण सबैले एकै ठाउँमा राखे जमरा


१३ असोज। नुवाकोट । वडादशैँका अवसरमा नुवाकोटको बेलकोटगढीमा २३५ परिवारले आइतबार घटस्थापनाको दिन सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० बेलकोटगढीस्थित नीरञ्जना भगवाती माईको दशैँ घरमा दलित, जनजाति र ब्राम्हण समुदायका स्थानीयले सामूहिक जमरा राखेका हुन् ।

कानूनले जातीय छुवाछूत निषेध गरे पनि ग्रामीण भेगमा अझै पनि यसको अवशेष कायमै रहिरहेको पाइन्छ । तर यहाँको दशैँ घरमा दलितको सँगै बाहुनको समेत जमरा राख्ने चलन निकै पुरानो भएको मन्दिरका पुजारी महेश पौडेलले बताउनुभयो । ‘पृथ्वी नारायण शाहले बेलकोट राज्य जितेपछि सामूहिक जमरा राख्न थालिएको हो । त्यस यता हरेक वर्ष दलित, जनजाति र ब्राम्हणको जमरा गाउँको मन्दिरको दशैँ घरमा सामूहिकरुपमा राखिँदै आएको छ ।’

नुवाकोटको नौ कोटमध्ये बेलकोट पनि एक हो । यहाँको नीरञ्जना भगवती मन्दिर एक शक्तिपीठका रुपमा पुजिँदै आएको छ भने दशैँमा काठमाण्डौको हनुमान ढोकोका दशैँ घरमा गरिने पूजा विधिअनुसार नै पूजा हुँदै आएको पूर्वगाविस अध्यक्ष वासु कडुवालले बताउनुभयो ।

यो वर्ष सामूहिक जमरामा स्थानीय मिजार, विश्वकर्मा, नेपालीलगायतको ३५ घरपरिवारसहित बाहुन, क्षेत्री, मगर परिवारले नीरञ्जना भगवती मन्दिर परिसरमा रहेको दशैँघर(कोतघर)मा सामूहिक जमरा राखेका हुन् । यहाँका पाण्डेगाउँ, मिजारटोल, मैदानटोल, गैरीगाउँलगायतका स्थानीयले सामूहिक जमरा राखेका हुन् ।

यहाँको मन्दिरको नाममा ३९१ रोपनी गुठीको जग्गा भए पनि मन्दिरमा पूजा सञ्चालनको लागि कुतबाली प्राप्त हुन छाडेपछि परम्परा धान्न सकस भएपछि पछिल्लो समय स्थानीय सरकारले आर्थिक सहयोग गर्न थालेको बेलकोटगढी नपा–१० का वडाअध्यक्ष पूर्णबहादुर त्रिपाठीले बताउनुभयो । यो वर्ष यहाँको दशैं पूजा सञ्चालनका लागि बेलकोटगढी नपाले २ लाख रुपैयाँ प्रदान गरेको छ । रासस

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार ०९:१५

https://srdb.com.np/