९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

धादिङकाे नीलकण्ठमा सह-चालकले चलाएको यात्रुबाहक बस दुर्घटना

१२ असोज, धादिङ । सह-चालकले चलाएको यात्रुबाहक बस धादिङको नीलकण्ठ नगरपालिका -१३ मा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङवेशी आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको केरौँजा गाउँमा आइपुगेपछि सडकबाट धानखेतमा खसेको थियो ।

दुर्घटना हुनुअघि नै शंका लागेर बसबाट गन्तव्यमा नपुगी झरेका यात्रु भीम तामाङका अनुसार बस सह-चालकले चलाएका थिए । तामाङले भने, ‘म पनि त्यही बसमा आउँदै थिए। बाटोमा पटक पटक दुर्घटना हुन खोजेको थियो। चालकको लापरवाही देखेपछि १ किलोमिटर तलै ओर्लिएको थिएँ ।आफू ओर्लिएको केही बेरमा नै बस दुर्घटना भयो।’

घाइतेहरुको जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले बताएकाे छ । घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका- ५ का दलबहादुर तामाङ, हस्तकुमारी तामाङ लक्ष्मी गुरुङ, चेन्डे दमाई, सान्त माया गुरुङ रहेका छन् । बसमा चालक सहचालकसहित जम्मा ७ जना यात्रु भएकाले धेरै क्षति हुन नपाएको स्थानीय बताएका छन् । बसका चालक घाइते भएपनि उनी घटनास्थलमा नदेखिएको र उपचारका लागि अस्पतालमा नआएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : September 29, 2019 at 2:47 pm