८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

डीडीसीका तत्कालिन महाप्रबन्धक गंगा तिमसिनासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

७ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी)का तत्कालिन महाप्रबन्धक गंगा तिमसिनासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले काठमाडौँ उपत्यकामा दुग्ध पदार्थ वितरणका लागि दुई कम्पनीलाई टेण्डर नगरी पुन सम्झौता गरी डीडीसीलाई ठूलो आर्थिक नोक्शानी पुर्‍याएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिसँगको मिलेमतोमा टेण्डर नगरी आफुखुशी ५ प्रतिशत मूल्यवृद्धि गर्ने निर्णय गरी अस्वभाविक बढी भुक्तानी दिएको देखिएको अख्तियारले जनाएको छ ।

महाप्रबन्धक तिमसिनाले प्रशासन व्यवस्थापन विभाग र आर्थिक व्यवस्थापन विभागसमेतको सिफारिस राय विपरीत २०६९ असोज २२ गतेको सम्झौतामा प्रतिलिटर ढुवानी मूल्यमा ५ प्रतिशत मूल्यवृद्धि गर्ने निर्णय गरी दुग्ध विकास संस्थानलाई हानि नोक्शानी पुर्याएको पुष्टि हुन आएको अख्तियारले जनाएकाे छ ।

तत्कालीन महाप्रबन्धक तिम्सिना, तत्कालिन निमित्त उपमहाप्रबन्धक डा. ईश्वरीप्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालामजुका तत्कालिन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालिन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालिन वरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालिन प्रशासकीय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभाथका निमित्त प्रमुख दीपक सुवेदीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै दूध वितरण गोकुल निर्माण सेवाका सञ्चालक गोकुल फुयाल र प्रभु आदित्य विजनेस प्रालिका फणीन्द्रप्रसाद दाहाल, दीपबहादुर खड्का र तत्कालीन सञ्चालक सतिसकुमार गिरीविरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारले कर्मचारीविरुद्ध ४६ लाख ७९ हजार १ सय ८२ र वितरक गोकुल फुयालविरुद्ध २२ लाख १९ हजार र प्रभु आदित्य विजनेस प्रालिका ३ जनाविरुद्ध जनही २४ लाख ५९ हजार रुपैयाँ विगो दावी गरेको छ ।

प्रकाशित मिति : September 24, 2019 at 7:23 pm