८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

प्रहरीलाई सहुलियतमा ऋण सुविधा

५ असोज, काठमाडौँ । प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा रु १५ करोड विनियोजन गरिएको छ । प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयअनुसार उक्त ऋण सुविधा आजदेखि नै लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वरिष्ठ प्रहरी अधिकृत र कनिष्ठ प्रहरी अधिकृतका लागि हलुका सवारी र सकल दर्जाका प्रहरी कर्मचारीका लागि मोटरसाइकल स्कुटर, ल्यापटप, टेलिभिजन, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन किस्ताबन्दीमा समेत गरिद गर्नका लागि सहुलियत ऋण उपलब्ध हुने प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभयो । प्रहरीले यसरी किस्ताबन्दीमा ऋण लिँदा कल्याणकोष कार्यविधि २०७१ को अनुसूचि १० अनुसारको निवेदन दिनुपर्नेछ ।

हलुका सवारी साधनका लागि छ प्रतिशत व्याजदरमा रु १५ लाखसम्म १० वर्षका लागि ऋण लिन सकिनेछ । मोटरसाइकलका लागि भने सोही व्याजदरमा चार वर्षका लागि रु दुई लाख, ल्यापटप र टिभीलगायतमा रु ५० हजार र फ्रिज माइक्रोओभनमा रु २५ हजार ऋण लिन सकिने प्रहरीले जनाएको छ । कार/जीप लिने प्रहरी अधिकृतको हकमा सात वर्ष नोकरी गरेको र कनिष्ठ प्रहरी अधिकृतका हकमा सात वर्ष, प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म पाँच वर्ष र सोभन्दा माथिका लागि तीन वर्ष नोकरी अवधि बाँकी भएको हुनुपर्नेछ ।

अन्यको हकमा भने पाँच वर्ष नोकरी अवधि भएको हुनुपर्ने जनाइएको छ ।चाडबाड शुरु भएकाले त्यस्ता सामग्री खरीद गर्न चाहने प्रहरी कर्मचारीका लागि यो सहुलियत ऋण सुविधा उपलब्ध गराइएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : September 22, 2019 at 2:59 pm