घर निर्माण गर्दै गरेका मजदूरको करेण्ट लागेर मृत्यु
३ असोज, गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा घर निर्माणको क्रममा करेण्ट लागेर एक मजदूरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ वर्षीय पेमा तामाङको आज बाबियाचौरमा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा बिहान फलामको रड उठाउने क्रममा खुला बिजुलीको तारमा ठोक्किँदा तामाङलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ः३० बजेको समयमा करेण्ट लागेर ढलेका तामाङलाइ उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो ।
गम्भीर अवस्थामा रहेका तामाङलाई बेनी अस्पतालले मृत घोषणा गरेको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । मृतक तामाङको शव परीक्षणका लागि शवगृहमा राखिएको छ । परीक्षणपछि आफन्तलाई शव बुझाइने जनाइएको छ । मृतक तामाङ साउन १५ गतेदेखि दिलकुमारीको घर बनाउने काममा कार्यरत हुनुहुन्थ्यो ।
प्रकाशित मिति : September 20, 2019 at 5:52 pm









