७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

‘पर्यावरणीय पर्यटनसम्बन्धी’ राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने


१० बैशाख, काठमाडौँ । सपोर्ट एक्टिभिटिज फर पोर प्रोडुसर अफ नेपाल (सप्रोस नेपाल) नामक सामाजिक संस्थाले यही वैशाख १२ गते ‘पर्यावरणीय पर्यटनसम्बन्धी’ राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने भएको छ । मुलुकमा गरिबी न्यूनीकरणका लागि सूचना प्रविधिको उपयोग गरी पर्या–पर्यटन (इको टुरिज्म), घर वास (होम स्टे), प्रांगरिक खेतीलगायत क्षेत्रमा गरिएका लगानी त्यसबाट प्राप्त भएका उपलब्धिबारे सम्मेलनमा छलफल हुनेछ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सप्रोस नेपालका अध्यक्ष श्रीकृष्ण उपाध्यायले जैविक कृषि, नवीकरणीय ऊर्जा, पर्यटनजस्ता क्षेत्रमा गरिने स–साना लगानीबाट स्थानीय समुदायलाई कसरी लाभान्वित बनाउने भन्नेबारे सहभागीबाट अनुभव आदानप्रदान गरिने बताउनुभयो ।

उक्त सम्मेलनमा भोकमारी जस्तो जटिल समस्याको अन्त्य गरी खाद्य सुरक्षाका विषयलाई व्यवस्थित बनाउने, महिला तथा युवा सशक्तीकरणका विषय, दिगो विकास लक्ष्यप्राप्त गर्नेलगायत विविध विषयमा कार्यपत्र प्रस्तुत गरी सहभागीबाट धारणा लिइनेछ ।

साना किसान विकास बैंकका उपप्रमुख कार्यकारी अधिकृत डा शिवरामप्रसाद कोइरालाले कृषकलाई लाभान्वित गर्न विभिन्न कृषि सहकारीमार्फत रु १६ अर्ब लगानी गरिएको जानकारी दिनुभयो । विभिन्न मुलुकबाट आउने विज्ञले कार्यपत्र प्रस्तुत गर्ने उक्त सम्मेलनमा करीब २०० जनाको सहभागिता हुनेछ । हरियो नेपाल, समृद्ध नेपालको अभियान पूरा गर्न दिगोरुपमा वनको व्यवस्थापनकाबारे जानकारी गराइनेछ ।

सप्रोस नेपालले गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, लमजुङ, र तनहुँका विभिन्न गाउँपालिकामा भूकम्पका कारण विस्थापित भएकालाई पुनःस्थापना गराउन विभिन्न व्यावसायिक सीप तथा तालीम उपलब्ध गराएको जनाइएको छ । रासस

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ०७:३४