जीपसहित अरूण नदीमा वेपत्ता भएका ६ जनाको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोरको प्रतिक्षा
१ असोज, संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका तीन रहेका छन् ।
धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो । जिप राति १०ः३० बजे सिधैँ अरुण नदीमा खसेर बेपत्ता भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन् । त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता छन् ।

जिप अरुणमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालन गरिएको थियो । केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो । लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नुपर्छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी पुगिसकेका छन् । अहिले सशस्त्र प्रहरीको गोताखोरको प्रतिक्षा भैरहेको छ । बिहानै गोताखोर टोलीका लागि खबर गरिसकेको प्रहरी नायब उपरीक्षक लामाले बताउनुभयाे ।
प्रकाशित मिति : September 18, 2019 at 11:44 am









