शान्ति सेनामा जाने सैनिकको भत्ता बढ्यो, कसको भत्तामा कति वृद्धि ?
३१ भदौ, काठमाडौँ । शान्ति सेनामा जाने सैनिकको भत्ता बढेकाे छ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको हाे ।
सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको १ हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहीना एक हजार ११४ अमेरिकी डलर कायम गर्ने निर्णय गरेको हो ।
बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले प्राप्त गरिरहेको १ हजार ३७८ अमेरिकी डलर भत्तामा २१ डलर थप गरी १ हजार ३९९ अमेरिकी डलर प्रतिमहीना कायम गर्ने निर्णय गरेको छ । वृद्धि गरिएको भत्तादर आगामी असोज १४ (अक्टुबर १)देखि लागू हुनेछ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली शान्ति सेनाले हालसम्म विश्वका ४३ वटा मिशनमा रही हालसम्म एक लाख २७ हजार ३९० जनाले शान्ति स्थापना कार्यमा योगदान पुर्याइसकेका छन् । उक्त क्रममा ६५ जना नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ जना गम्भीर घाइते भएका छन् ।
हाल विश्वका ११ वटा द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ मिशनमा १९५ महिलासहित पाँच हजार ९५ नेपाली शान्ति सैनिक खटिरहेका छन् । शान्ति सैनिकमा योगदान गरेबापत संयुक्त राष्ट्रसङ्घबाट नेपाली सेनाले प्राप्त गर्ने रकमबाट २०३२ सालमा १ करोड २४ लाख रकमबाट प्रारम्भ गरिएको सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति अहिले ४४ अर्ब बराबर पुगिसकेको छ ।
ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले पाँचौँ नम्बरमा छ ।
प्रकाशित मिति : September 17, 2019 at 12:07 pm









