१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

कोशीको पटेर स्थानीयका लागि बरदान

–अजितकुमार झा
९ बैशाख, सुनसरी । “सीप, ज्ञान र काम गर्ने जागर भयो भने सिमसार क्षेत्रमा त्यतिकै खेर गइरहेका पटेर पनि आम्दानीका राम्रो स्रोत हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् कोशी प्रभावित क्षेत्रका स्थानीयवासिन्दा ।”

सुनसरीको कोशी प्रभावित क्षेत्रका स्थानीयवासीका लागि सिमसार क्षेत्रको पटेर यतिखेर बरदान सावित भएको छ ।

कोशी नदीको किनारमा रहेका सिमसारमा पाइने प्राकृतिक पटेरले सो क्षेत्रका सयांै परिवारको जीविकोपार्जनमा सहयोग पु¥याइरहेका छन् । पटेरबाट गुन्द्री र झोला तथा अन्य सामग्री उत्पादन गरी बिक्री गरेर राम्रो आम्दानी लिन थालेपछि आफूहरुका लागि पटेर बरदान सावित भएको स्थानीय मञ्जु सरदारले बताउनुभयो ।

कोसीको आसपास क्षेत्रमा बस्ने सरदार र उराव समुदायले कोसीको पटेरबाट जीविकोपार्जन गरिरहेको उहाँले बताउनुभयो । कोशी प्रभावित क्षेत्रमा कोशी पीडितसँगै सर्वसाधारणले पटेरबाट गुन्द्री बनाएर स्थानीय बजारमा बिक्री गर्ने गरेको स्थानीय मन्सरी सरदारले बताउनुभयो ।

कोशी क्षेत्रको पटेर काटेर सञ्चय गरी राख्ने र वर्षभरी आफ्नो सीप प्रयोग गरी गुन्द्री र झोला बनाएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । पटेरबाट बनाइएको सामग्री बिक्री गरेर मासिक रु पाँच देखि १५ हजारसम्म आम्दानी गर्ने गरेको मन्सारी सरदारको भनाई छ । कसैले निःशुल्क र कसै कसैलाई केही रकम तिरेर पटेर किन्नुपरेको स्थानीय बुधेश्वर उरावले बताउनुभयो ।

गुन्द्री बनाउनका लागि पटेर, डोरी, रंग, फर्मा आवश्यक पर्ने गर्छ । बजारमा निर्माण गरिएका गुन्द्री रु १५० देखि रु पाँच सयसम्ममा बिक्री हुन्छ भने झोला आकार र बनावटको आधारमा रु एक सयदेखि रु एक हजारसम्ममा बिक्री हुने गरेको कोशी गाउँपालिका– ३ का रधीया सरदारले बताउनुभयो । रासस

प्रकाशित मिति : April 22, 2018 at 1:58 pm