११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

आरनबाटै राम्रो वार्षिक चार लाख भन्दा बढी आम्दानी

–गोपालप्रसाद बराल
९ बैशाख, महोत्तरी । यहाँका अधिकांश युवा वैदेशिक रोजगारतर्फ आकर्षित भइरहेका वेला महोत्तरी बर्दिवास नगरपालिका–१ का जनकबहादुर विश्वकर्माको परिवार आफ्नै पुख्र्यौली पेशाले धान्न पाएपछि दंग छन् । परम्परागत रुपमा बाबुबाजेले अपनाउँदै आएका आरन पेशाबाट मनग्गे आम्दानी लिन सफल भएसंगै आफ्नो उत्पादनले राम्रो चर्चा पाउन थालेपछि विश्वकर्मा परिवारमा खुशी छाएको हो ।

कृषि कार्यका लागि कच्चीया, हँसिया, कोदालो, हलो र फाली अर्दापेरै (धार बनाउने काम) गरेवापत विश्वकर्मा परिवारले वार्षिक रु चारलाख भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

कृषि कार्यका लागि नयाँ औजार र खुकुरी बनाएर वार्षिक करिब रु पाँच लाखसम्म आम्दानी हुने गरेको जनकबहादुर विश्वकर्माले बताउनुभयो ।

नेपाली सेनाको १७ वर्षे सेवाबाट अवकास पाएपछि आपूmले सञ्चालन गरेकोे भूपूसैनिक खुकुरी उद्योगमा खुकुरीको माग उच्च छ । माग आपूतर््िाका लागि अहिले आफूलाई भ्याइनभ्याइ हुने गरेकोे उहाँले बताउनुभयो ।

दशैंका वेलामा खुकुरीको माग अत्यधिक हुने गरेको छ । तर दशैंका वेला बेचिएका खुकुरीको हिसाब भने विश्वकर्मा परिवारले राख्ने गरेका छैनन् । ‘पछिल्ला पाँच वर्षयता दशैंका वेला सरदर रु तीन लाखको खुकुरी व्यापार हुने हुने गरेको जनकबहादुर विश्वकर्माले बताउनुभयो ।

यस उद्योगमा उत्पादित खुकुरी सिन्धुली, सर्लाही, सिरहा, धनुषा र उदयपुर जिल्लाका बजारमा पुग्ने गरेका छन् । यसैको आम्दानीले आफ्ना तीन छोराछोरीलाई आवासीय अंगे्रजी बोर्डिङ स्कुलमा पढाउने गरेका छौं, उहाँले भन्नुभयो, “यसैको आम्दानीले घरखर्च कटाएर बर्दिवासमै सात कठ्ठा जग्गा जोड्न सकिएको छ ।” उद्योग सञ्चालनमा ठूलो छोरा र पत्नीको सहयोग छ ।

विश्वकर्मा परिवारले आफ्नै पुख्र्यौली पेशाबाट राम्रो आम्दानी हुने गरेको देखेपछि वैदेशिक रोजगारीमा जानका लागि ऋण खोज्दै हिँडेका कैयौं युवा आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्ने तयारी रहेको उहाँका छिमेकी बर्दिवास–१ का सञ्चारकर्मी विक्रम रौनियार बताउनुहुन्छ ।

जनक आफूले खुकुरी र नयाँ कृषि औजार बनाउने तथा उनका जेठो छोरा र पत्नी पुराना कृषि औजार बनाउने कार्य गर्दै आएको छ । विश्वकर्माको उद्योगबाट निर्मित खुकुरी र कृषि औजार राम्रो फलामबाट बनेको हुँदा चाँडै खिया नलाग्ने, धार नजाने र छरिता हुने गरेको भंगाहा नगरपालिका–४ का जङगबहादुर श्रेष्ठले बताउनुभयो । रासस

प्रकाशित मिति : April 22, 2018 at 1:55 pm