विद्यालय जाँदै गरेकी बालिकामाथि एसिड प्रहार, १ जना प्रक्राउ
२० भदौ, पर्सा । वीरगञ्जको गणेशमानचौकमा शुक्रबार बिहान १५ वर्षीया एक बालिकामाथि एसिड (तेजाब) प्रहार भएको छ । विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि २ जना युवकले तेजाब प्रहार गरेका हुन् ।
तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको छ । तेजाब प्रहारबाट घाइते भएकी खातुनको नारायणी अस्पतालमा उपचार हुन नसकेकाेले काठमाण्डाैका लागि रिफर गरिएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । बिहान ६ बजे विद्यालय जान लागेकी युवतीमाथि सम्सादले एसिड प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।
उहाँले युवतीमाथि तेजाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको बताउनुभयो । मुस्कान वीरगञ्जको रामटोलमा रहेको त्रिभुवन हनुमान माध्यमिक विद्यालायको कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्याे ।
प्रकाशित मिति : September 6, 2019 at 11:10 am









