बढेको धराैटी बुझाउन नसक्ने ३०३ म्यानपावर खारेज, संख्या घटाउने सरकारी प्रयत्न सार्थक
१८ भदाै, काठमाडाैँ । तोके अनुसार धराैटी बुझाउन नसक्ने ३०३ म्यानपावर कम्पनी खारेजीमा परेका छन । अब योसँगै ८ सय ४८ म्यानपावर कम्पनी मात्रै रहने भएका छन् । सरकारले धरौटी बढाउन म्यानपावर कम्पनीहरूलाइ समय दिएको थियो । उक्त समय बुधबार सकिएको छ । सरकाले दिएको दिएको अन्तिम मिति बुधबारसम्म ८ सय ४८ म्यानपावरले बैंक ग्यारेन्टी र नगद धरौटी राख्ने प्रक्रिया पुरा गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागका महानिर्देशक डा भिष्म कुमार भुषालले जानकारी दिएका छन ।
उनले इजाजतपत्र लिएका मध्ये ३ सय ३ वटा म्यानपावर कम्पनी धरौटी बढाउन नसकेकै कारण खारेजीमा परेको बताए । अब ती म्यानपावर बन्द हुने उनले बताए । भुषालका अनुसार हालसम्म सरकारले दिएको ‘मर्जर’को विकल्प ३०३ वटा म्यानपावर कम्पनीले अवलम्बन गरेका छन । जसमा दुई-दुई वटा संस्था मर्ज भएर १०६ म्यानपावर कम्पनी बनेका छन । त्यस्तै दुई-दुई वटा संस्था मर्ज भएर १३ वटा संस्था बनेका छन । यस्तै चार चार वटा म्यानपावर मर्ज भएर ९ वटा कम्पनी बनेका छन ।

यस्तै पाँच पाँच वटा मर्ज भएर २ वटा र ६ वटा म्यानपावर कम्पनी मर्ज भएर एउटा कम्पनी बनेको छ । महानिर्देशक भुषालले खारेजीमा परेका र मर्जर भएका गरी अब लाइसेन्स भएका म्यानपावर कम्पनीमध्ये ४७५ वटा म्यानपावरको अस्तित्व समाप्त भएको छ । भुषालका अनुसार १५२७ म्यानपावर कम्पनी मध्ये यसअघि नै २०४ म्यानपावर कम्पनी खारेज भैसकेका थिए ।
श्रम, रोजागर तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ५ सयभन्दा बढी म्यानपावर कम्पनी आवश्यक नभएको भन्दै वैदेशिक रोजगार ऐनमा संशोधन गराएर धरौटी वृद्धि गराएका थिए । संशोधित ऐनअनुसार वर्षमा ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद धरौटी र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था रहेको छ । ऐनअनुसार तीनदेखि ५ हजारसम्म कामदार पठाउनेले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी तथा ५ हजारभन्दा बढी कामदार पठाउनेले दुई करोड नगद धरौटी र तीन करोड बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान रहेको छ ।
मन्त्री विष्टले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सोही अनुरूपमा नीतिगत सुधार गरेर काम अघि बढाइरहेका छन । उनले स्वदेशमै रोजगारी सर्जना गर्न सरकार लागि परेको बताउँदै बाध्यताले विदेशिने परिस्थितिको केही समयमै अन्त्य गर्ने प्रतिवद्धता जनाउँदै अाएका छन ।
प्रकाशित मिति : September 4, 2019 at 9:22 pm









