११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

नेकपा एकताः केन्द्रीय प्रचार विभागका प्रमुख श्रेष्ठ र उपप्रमुख थापाले सम्हाले जिम्मेवारी

१८ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी औपचारिक रूपमा प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापाले ग्रहण गरेका छन । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको दिवाकर हलमा बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा आयोजित हस्तान्तरण कार्यक्रममा पूर्ववर्ती नेकपा (एमाले) का प्रचार प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा र सचिव विष्णु रिजाल तथा नेकपा (माओवादी केन्द्र) का प्रचार प्रमुख पम्फा भुसालले आआफ्नो अनुभवसहित नयाँ कार्यविभाजन अन्तर्गत विभागीय जिम्मेवारी प्राप्त श्रेष्ठ र थापालाई जिम्मेवारी हस्तान्तरण गरेका हुन ।

जिम्मेवारी हस्तान्तरणको अवसरमा पार्टी अध्यक्ष प्रचण्डले यतिबेला स्वतन्त्रता र अनुशासन तथा लोकतन्त्र र अधिनायकत्वबीच सन्तुलित सम्बन्ध र व्यवहार गर्न आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष प्रचण्डले योजनाबद्ध प्रचार कार्य व्यवस्थित गर्नुपर्ने आवश्यकता औल्याउँदै नयाँ जिम्मेवारी सफलताका साथ बहन गर्न श्रेष्ठ र थापालाई शुभकामना पनि दिए । 

बैठकमा नेकपाकै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपाका नेताहरू युवराज ज्ञवाली, प्रदिप नेपाल, अग्नि सापकोटा, पम्फा भुसाल, रघुजी पन्त, प्रेस संगठन नेपालका ईन्चार्ज राजेन्द्र गौतम, सह इन्चार्ज महेश्वर दाहाल (संयोजक) र ओम शर्मा तथा सहसंयोजक गणेश वस्नेतलगायतले आआफ्ना सुझाव र शुभकामना दिएका थिए । 

जिम्मेवारी हस्तान्तरण कार्यक्रममा नेकपाको नियमावली २०७५ ले विभागलाई प्रदान गरेको कार्य क्षेत्रको चर्चा गर्दै उपस्थित नेताहरूलाई स्वागत गर्दै उपप्रमुख सूर्य थापाले बैठक थालनी र संचालन गरेका थिए । प्रमुख नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष, वरिष्ठ नेतासहित बैठकमा सहभागी सबै आमन्त्रित व्यक्तित्वहरूलाई शुभकामना, निर्देशन र मार्गदर्शनका निम्ति धन्यवादका साथ विभागले योजनाबद्ध र सुव्यवस्थित रूपमा काम गर्ने बताए । 

 

प्रकाशित मिति : 20:39