भारतमा बसेर व्यापारी धम्क्याउँदै पैसा असुली गर्ने सत्यराज योगीमाथि प्रहरीले चलायो गोली
१८ भदौ, काठमाडौँ । भारतमा बसेर व्यापारी धम्क्याउँदै पैसा असुली गर्ने सत्यराज योगीमाथि प्रहरीले गोली चलाएकाे छ । ‘खुङ्खार अपराधी’ फुल हसन अन्सारी समूहका सत्यराज योगी भनिने सन्तोष दासलाई प्रहरीले गाेली प्रहार गरी नियन्त्रणमा लिएको हाे । भारतमा बसेर व्यापारी धम्क्याउँदै पैसा असुली गर्ने दास नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।
भारतबाट पैदल आउँदै गरेका दासले प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दै गर्दा वीरगञ्जस्थित राधेमाई क्षेत्रबाट नियन्त्रण लिन प्रहरीले गोली चलाएको हाे । प्रहरीले चलाएकाे गाेली दासको दाहिने घुँडामा लागेको छ । गोली लागेर घाइते भएका दासको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।
दासको साथबाट प्रहरीले म्यागजीनसहितको टाईप ५४ मोडेलको पेस्तोल, १७ राउण्ड गोली र सेतो प्लाष्टिकमा रहेको खैरो रङ्गको १७० ग्राम धुलो पदार्थ पनि बरामद गरेको छ ।
दास यसअघि २०६४/०६५ मा हातहतियार मुद्दामा तत्काल पुर्पक्षका लागि जेल चलान भएका व्यक्ति हुन् । त्यस्तै २०६६/०६७ मा पशुपति रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा ८ वर्ष ५ महिना १० दिन कैद सजाय भुक्तान गरेर निस्किएका थिए दास ।
प्रकाशित मिति : September 4, 2019 at 2:05 pm









