७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

उपचारका लागि सहयोग गर्न क्यान्सर पीडित जनप्रतिनिधिको याचना

– रिपेश दाहाल
२९ साउन, हेटाैँडा । भाइ मलाई कहिले लाने इन्डिया छिटो गरन, छिटो नगरे त म मरिहाल्छु नी । मलाई जे गरेर भए पनि बचाइदेउ ।’ चितवनको एउटा अस्पतालको शय्यामा आफ्नो भाइलाई बचाइ दिन एक महिला यसरी हारगुहार गर्दैछिन् । पुरुषहरुको झै छोटो कपाल भएकी ती बिरामी महिला एक जनप्रतिनिधि हुन् । मृत्युसँग जुधिरहेकी उहाँ हेटौँडा उपमहानगरपालिकाकी नगरकार्यपालिका सदस्य रुपा खुलाल हुन् ।

क्यान्सर पीडित खुलालबारे उहाँका आफन्त तथा हेटाँंडा–१३ का वडाध्यक्ष मनोज वाईबाले भन्नुभयो – “आँट, साहस र उत्प्रेरणाकी स्रोत थिइन् रुपा । छिमेकी, टोलवासी र गाउँशहरकै दाहिने हात नै थिइन् उनी । विद्यालय नजाने बालबालिकालाई विद्यालय पठाउने, अन्यायमा परेका दिदीबहिनीहरुलाई न्यायको ढोकासम्म पु¥याउने, दुःखीहरुका घाउमा सधैं मलम पट्टि लगाइलिने गर्थिन् रुपा ।”

हेटौँडा–१३ घर भएकी र लामो समयदेखि राजनीति तथा समाजसेवामा सक्रिय खुलालले आफूलाई बाँच्ने चाहना भएको तर पैसाको अभावले मृत्यु कुरेर बस्नुपरेको भन्दै सहयोगको याचना गर्नुभएको छ । चिकित्सकहरुले क्यान्सरको थप उपचारका लागि तत्काल भारत वा अन्य सुविधा सम्पन्न अस्पताल नलगे ज्यान नै जान सक्ने बताए पनि उहाँ पैसाको अभावमा चितवनकै एक अस्पतालमा सामान्य उपचार गरेर बस्न विवश हुनुहुन्छ । स्तन क्यान्सरले पीडित उहाँले अस्पतालकै शय्याबाट सहयोगको अपिल गरिरहनु भएको छ ।

“म बाँच्न चाहान्छु , मेरा दुई छोरीहरुको भविष्यको लागि मात्रै भए पनि मैले बाँच्नु पर्छ । मलाई जीवनमा धेरै काम गर्न मन छ, मलाई चाउनुहोस् ” क्यान्सरले ग्रस्त खुलाल भकानिँदा त्यहाँ उपस्थित धैरैका आँखा रसाएका थिए । क्यान्सर लागेको ढिलो गरी थाहा पाएकाले उहाँका दुबै स्तन काटिएका छन् । चुनाव ताका उपचारका लागि अस्पतालमा भर्ना भएका कारण निर्वाचनमा आफंैलाई समेत मत हाल्न नपाए पनि लोकप्रियताका कारण उहाँले हार ब्यहोर्नु परेन ।

दुबै स्तन काटिएको २ वर्ष भयो । स्तन क्यान्सरले ग्रसित खुलाल स्तन काटिए सँगै पूर्ण उपचारपछि स्वास्थ्यलाभ गरी समाजसेवा र राजनीतिमा फेरि सक्रिय हुन थाल्नुभएको थियो । केही महिना अघिदेखि उहाँलाई रिङ्गटा लाग्ने, बान्ता हुने लगायतको समस्या देखा पर्न थाल्यो । कुनै पनि खानेकुरा पेटमा पर्नै नहुने, बान्ता भैहाल्ने भए पछि उहाँ ३ महिना अघि अस्पतालमा भर्ना हुनुभयो । भरतपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरुले कारण पत्ता लगाए । कारण थियो – निको भइसकेको भनिएको स्तन क्यान्सर फैलिएर शरिरका अन्य भागमा पुग्नु ।

“भारतमा उपचार गराउन शुरुमै २० लाख बुझाउनुपर्ने रहेछ,” रुपाका भाइ रत्नसिंह स्याङ्तानले भन्नुभयो – “हामीसँग त्यत्रो पैसा छैन । दिदीले जहिले पनि मलाई जसरी भए पनि बचाइदेउ भन्नुहुन्छ, भाञ्जीहरु पनि ममीलाई बचाइदिनुस् भन्नुहन्छ तर पैसा नभए मृत्यु कुर्नुको विकल्प छैन ।” उहाँका अनुसार खुलालकी २० वर्षीया जेठी छोरी मकवानपुर टेक्निकल इन्स्टिच्युटमा स्वास्थ्य सहायक पढ्दैछिन् भने १२ वर्षीय कान्छी ७ कक्षामा । खुलालको ज्यान बचाउन थुपै्र सङ्घसंस्थाहरुले आर्थिक सहयोग दिन शुरु पनि गरिसकेका छन् । हेटौंडा उपमहानगरपालिकाले रु ५ लाख सहयोग दिने भएको छ ।रासस

प्रकाशित मिति : August 14, 2019 at 2:53 pm