७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

आमा हराउँदा दुई छोराकाे बिचल्ली

२६ साउन, पाल्पा । तानसेन नगरपालिका–२, अशनटोलकी विनु नेपाली दुई छोरा छाडेर हराइन् । गत असार २७ गतेदेखि हराएपछि दुई बालक उनको सम्झनामा पिरोल्लिएका छन् । जेठो १३ वर्षीय विश्वास तानसेनको जनता माविमा कक्षा ७ मा अध्ययनरत छन् भने पाँच वर्षका कान्छो समीर तानसेनकै बाल मन्दिरमा कक्षा १ मा अध्ययनरत छन् ।

बस चालक बाबु यमबहादुरलाई श्रीमतीले घर छाडेर गएपछि आफैँले बालबच्चा हुुर्काउनुपर्ने, खाना पकाउनुपर्ने र गाडी चलाउनुपर्ने समस्या थपिएको छ । “छोरो समीर कहिलेकाहीँ स्कूल जान मान्दैन, बाबा मलाई छाडेर नजानुहोस् भनेर रुन्छ”, यमबहादुरले भन्नुभयो, “मैले उसलाई मसँगै गाडीमै डुलाइरहेको छु ।”

पछिल्ला वर्षमा परिवारको बिचल्ली पारेर महिला हराउने दर बढ्दै गएकाले तिनका बालबालिका हुर्काउन कठिन भएको छ । जिल्लामा आव २०७५÷७६ मा १५३ महिला तथा बालबालिका हराएकामा आमा बनिसकेका १२०, २७ किशोरी र सात किशोर थिए भने आव २०७४÷७५ मा १३० महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको साउन महीनामा मात्र आठ महिला हराएका थिए ।

वैदेशिक रोजगारमा गएका श्रीमान् लामो समयसम्म घर फर्किंदा श्रीमती हराउनेक्रम बढ्दो छ । श्रीमान्को कमाइको दुरुपयोग र परपुरुषसँग शारीरिक सम्र्पकका कारण श्रीमान् विदेशबाट फर्किने थाहा पाउनेबित्तिकै श्रीमती हराउनेक्रम बढेको उक्त कार्यालयको जिकिर छ । यसका साथै पारिवारिक समस्या तथा महिला हिंसा र साथीभाइको लहैहलैमा लागेर पनि महिला हराउनेक्रम बढेकाले कलिला बालबालिका आमाको मायाबाट बञ्चित हुँदै आएका हुन् ।

प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाका अनुसार सरोकारवाला व्यक्तिको निवेदनसहितको फोटोका आधारमा मातहतका प्रहरी चौकीमार्फत खोजी गर्दा केही महिला भेटिएर आफन्तलाई बुझाइएको प्रहरीको जिकिर छ । आफन्तलाई बुझाइएका केही महिला तीनपटकसम्म हराएका पाइएको र केहीले दोस्रो विवाह गरेको पाइएको जनाइएको छ ।

उक्त कार्यालयकी प्रहरी जवान बविता थापाले आर्थिक वर्ष २०७४÷७५ मा हराएकामध्ये १०० महिला, सात बालक, २४ बालिका भेटिएका र उनीहरुलाई आफन्तसँग बुझाइएको थियो जनचेतनाको अभावमा १८ देखि ३५ वर्षसम्मका महिला हराउन थालेपछि अभिभावकलाई समेत समस्या थपिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत हुने कुराकानीले मायाप्रिती बस्दै विवाह हुने स्थितिमा पुगेपछि महिला हराउनेक्रम बढेको पाइएको जनाइएको छ ।

प्रकाशित मिति : August 11, 2019 at 4:36 pm