८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

मान्छे तान्ने त्रिशुलीः दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्, नदीमै हराउँछन्

२६ साउन, काठमाडौँ । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन् । अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन् । कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ।

अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूलीमा खसे। भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आव ०७४/७५ मा १४ वटा गाडी नदीमा खसेका थिए। तिनमा २२ जनाको मृत्यु भयो।

०७५/७६ मा १५ वटा गाडी त्रिशूली खसे भने २६ जनाले ज्यान गुमाए। साउनमा मात्रै चार वटा सवारीसाधन त्रिशूलीमा खसेका छन्। त्यसअघि पनि थुप्रै गाडी त्रिशूलीमा खसेर बेपत्ता भएका छन्।

०७३ असोज ९ गते पूर्वगृहमन्त्री माधव घिमिरे चढेको बा९च १५३१ नम्बरको गाडी घोप्टेभीरबाट दुई सय मिटर त्रिशूलीमा खसेर बेपत्ता भएको थियो। घटनामा चार जनाको मृत्यु भएको थियो। घिमिरेसहित दुई बेपत्ता भए। गोताखोरले पानीको गहिराइमा पुगेर खोज्दा पनि गाडी भेट्न सकेनन्। त्यसको केही दिनअघि मालवाहक ट्रक खसेर नदीमा गायब भएको थियो।

०७३ भदौ १० गते रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको रात्रिबस त्रिशूलीमा खस्दा २५ जनाको मृत्यु भएको थियो। ०७३ साउनदेखि माघसम्म मात्रै २१ वटा गाडी त्रिशूलीमा खसेको तथ्यांक छ। नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा २०७४ असार ९ गते पहिरो पन्छाउने क्रममा पहिरोले बगाएर त्रिशूलीमा डुबेको प्रहरीको भ्यान बेपत्ता छ। घटनामा प्रहरी सहायक निरीक्षकसहित चार जनाको मृत्यु भएको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अनिल ढकालले लेखेका छन् ।

प्रकाशित मिति : August 11, 2019 at 7:18 am