नुवाकोटको ककनी वडा कार्यालयमा बम विष्फोट गराउने बेलकोटगढीका बच्चुराम लामिछाने पक्राउ
२१ साउन, नुवाकाेट । नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विष्फोट गरेकाे अभियोगमा बेलकोटगढीका बच्चुराम लामिछाने पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–५ का लामिछानेले प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनीसहितका व्यक्तिले यही साउन १४ गते राति वडा कार्यालयमा बम विष्फोट गराएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

लामिछानेलाई काठमाडौँको कीर्तिपुरस्थित सञ्चालन गर्दै आएको स्टेशनरी पसलबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि नुवाकोट ल्याइएको प्रहरीले जनाएकाे छ । सोमबार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइएको छ ।
उनी हाल कीर्तिपुरमा व्यवसाय गर्दै आएकाले प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध नभएकाले रिहा गर्न परिवारले आग्रह गरेका छन् । नेकपा विप्लव समूहको खुला राजनीतिक गतिविधिको समयमा समर्थक भए पनि उक्त पार्टीको क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाएसँगै व्यवसायतर्फ लागेकाे र रिहा गरिदिन पक्राउ परेका लामिछानेकी श्रीमती रश्मी ढुङ्गानाले माग गरेकी छिन् ।
प्रकाशित मिति : August 6, 2019 at 5:27 pm









