ठूलो ढुङ्गा लडेर बन्द भएकाे रसुवा सडक खुल्याे
२० साउन, रसुवा । माथिबाट राजमार्गमा ठूलो ढुङ्गा लडेका कारण आज बिहान रसुवामा भएको सवारी दुर्घटनामा परी घाइते चालकको थप उपचारका लागि काठमाडौँ पठाइएको छ । प्रहरी निरीक्षक एवं जिल्ला प्रहरी प्रवक्ता ईश्वरी भण्डारीका अनुसार घाइते हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नं ४ निवासी ३५ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् । उहाँको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।

मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएर आज बिहानैदेखिको अवरूद्ध राजमार्ग नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाका उपकरण र नेपाली सेनासमेतको सहयोगले पल्टिएको मालवाहक उठाई आठ घण्टापछि राजमार्ग खुला गरिएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिनुभयो ।
भन्सार जाँचपास भएर काठमाडौँका लागि टिमुरेबाट बिहानै गुडेको उक्त नम्बरको मालवाहक सिलबन्दी कन्टेनर डिब्बा निर्माणाधीन रसुवागढी १११ मेगावाट जलविद्युत् आयोजनाको क्रेनको प्रयोगले राजमार्ग खुलाइएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
भौगोलिक विकटको भिर र साँघुरो राजमार्ग वर्षायाममा माथिबाट निरन्तर लडिरहने पहिरो क्षेत्र भएको सो स्थानमा अहिलेसम्म तीनवटा घटना भइसक्दा पनि पहिरो रोकथाम गर्ने पहल नहुँदा रोङ्गाखोला रसुवागढी क्षेत्रका १६ किलोमिटर क्षेत्रमा सवारी साधन चलाउन दिनप्रतिदिन जोखिम बढ्दै गएको सवारी चालकले बताएका छन् । सो स्थान पुग्ने सवारी साधनलाई माथिबाट झरिरहने ढुङ्गाले हिर्काएका कारण यही साउन ११ गते दुई जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए ।
प्रकाशित मिति : August 5, 2019 at 3:22 pm









