७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

बिरोधीको रोदनकाबीच ओली सरकारको पालामा १० वर्ष यताकै उच्च प्रत्यक्ष वैदेशिक लगानी भित्रियो

१ साउन, काठमाडाैँ । बिरोधी र प्रतिपक्षीकोको रोदनकाबीच प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्वको सरकारको पालामा १० वर्ष यताकै उच्च प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार गत आवमा ३१ अर्ब ९७ करोड (झन्डै ३२ अर्ब) रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ। यो लगानी आव २०७४/०७५ को तुलनामा चार गुणा बढी हो। यस आवमा आठ अर्ब मात्रै लगानी भित्रिएको थियो।

गत वर्ष २४ अर्ब रुपैयाँ बढी लगानी भित्रिएको हो। आर्थिक वर्ष २०७५/७६ मा १० वर्ष यताकै बढी प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको विभागले जनाएको छ । पछिल्लो १० वर्षको अन्तरालमा सबैभन्दा बढी लगानी स्वीकृति आव २०७२/७३ मा भएको देखिन्छ। तर त्यो समयमा जम्मा चार अर्ब रुपैयाँ मात्रै भित्रिएको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ। यस अवधिमा ३५ अर्ब ७४ करोड रुपैयाँ लगानी स्वीकृत भएको थियो। यसमध्ये ९१ प्रतिशत लगानी भित्रिएको हो।

अर्थतन्त्रको आकार ठूलो बनाउन लगानी आवश्यक हुन्छ। स्वदेशी होस् वा विदेशी। तर लामो समय यसको बहसमात्रै भए पनि पछिल्लो समय व्यावसायिक वातावरणमा केही तरंग देखिन थालेको छ। सबैभन्दा बढी विदेशी लगानी भारत र चीनबाट आप्रवाह भएको तथ्यांकले देखाएको छ। यस अवधिमा भारतबाट १० अर्ब ५५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। चीनबाट मात्रै नौ अर्ब १९ करोड रुपैयाँ भित्रिएको छ। त्यसपछि सबैभन्दा बढी लगानी भित्र्याउनेमा बेलायत रहेको राष्ट्र बैंकले देखाएको छ। बेलायतबाट यसपालि पाँच अर्ब ६६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो । यो समाचार अाजको अन्नपूर्ण पोस्टमा पवन तिमल्सिनाले लेखेका छन । 

प्रकाशित मिति : July 31, 2019 at 10:34 am