३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

टान नेतृत्वका लागि प्रतिस्पर्धीको दौडधुप


–सिबी अधिकारी

११ साउन, काठमाडाैँ । पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्व लिन प्रतिस्पर्धीको दौडधुप बढेको छ । निर्वाचन आउन एक महीनाअघिनै टान अध्यक्षका लागि चार व्यवसायीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । टानका वर्तमान प्रथम उपाध्यक्ष खुमबहादुर सुवेदी, द्धितीय उपाध्यक्ष नीलहरि बाँस्तोला, पूर्व महासविच मोहन लम्साल र व्यवसायी कुमार थापाले नेतृत्वका लागि दाबदारी प्रस्तुत गरेका हुन् । उनीहरु निर्वाचनको प्रचारप्रसार तथा व्यावसायिक छलफल, गुटगत भेला, राजनीतिक समर्थन जुटाउन दौडधुपमा व्यस्त देखिन्छन् ।

अन्य पदाधिकारीको पदका लागि पनि व्यवसायी प्रचारमा जुटेका छन् । टानको आगामी भदौँ २० गते ४१औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिका लागि निर्वाचन हुदैँछ । टानलाई व्यावसायिक संस्थाको रुपमा स्थापित गर्न सकभर सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयनको लागि पहल भइरहेको टानका अध्यक्ष नवराज दाहालले बताउनुभयो । उहाँले व्यावसायिक एकताको सन्देश दिन पनि नेतृत्व सर्वसम्मत चयनका लागि पहल भइरहेको र त्यो सम्भव नभए निर्वाचनमा जाने उल्लेख गर्नुभयो ।

नजिकिएको नेपाल भ्रमण वर्ष अभियानलाई पनि सार्थक तुल्याउन व्यावसायिक एकता अपरिहार्य रहेकाले पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक पहल गरिएको अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्षका दावेदारले संस्थाको नेतृत्वका लागि आ–आफ्नो अपरिहार्यता र महत्वकांक्षी कार्ययोजनासमेत अघि सारेका छन् । अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदीले टान नेतृत्वका लागि आफूले उम्मेदवारी घोषणा गरेको र समूह निर्माणमा जुटेको राससलाई जानकारी दिनुभयो ।

“आफूप्रति व्यवसायीको विश्वास रहेको र संस्थालाई फरक ढङ्गले अघि बढाउने उद्देश्यले प्रतिस्पर्धामा होमिएको छु”, उहाँले भन्नुभयो ।अध्यक्षको दावेदार पर्यटन व्यवसायी लम्सालले पदयात्राभित्रको विकृति नियन्त्रण गर्न एक मात्र अर्जुन दृष्टिसाथ नेतृत्वमा जान चाहेको स्पष्ट पार्नुभयो । उहाँले छिट्टै आफ्नो समूह बनाएर निर्वाचनका एजेण्डा घोषणा गर्ने बताउनुभयो ।

अध्यक्षका अर्का आकाङ्क्षी व्यवसायी थापाले व्यवसायीको सुझावका आधारमा टानलाई व्यावसायिक संस्थाको रुपमा स्थापित गर्ने लक्ष्यसाथ नेतृत्वमा जान चाहेको बताउँदैँ समूह बनाउन छलफल गरिरहेको उल्लेख गर्नुभयो । त्यस्तै अर्का आकाङ्क्षी बाँस्तोलाले टानको विश्वसनीयता अभिवृद्धि गरी यसको भूमिकालाई बढाउँदै भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यवसायीको तर्फबाट आफूले पहल गर्ने बताउनुभयो ।

पछिल्लो समयमा विभिन्न पर्यटकीय संस्थामा राजनीतिक गुटबन्दी हुने गरेको छ । पर्यटन क्षेत्रसँग आवद्ध झण्डै ४० सङ्घ संस्था छन् । मुख्यतः टान, नेपाल पर्वतारोहण सङ्घ, नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभललगायत संस्थाको विगतमा भएका निर्वाचनमा विभिन्न राजनीतिक दल निकट भएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए ।

व्यावसायिक संस्थाभित्र राजनीति हाबी हुँदा समग्र पर्यटनका गतिविधिमा एकता र प्रवद्र्धन प्रभावकारी नहुने यस क्षेत्रका विज्ञ बताउँछन् । निर्वाचनका लागि कार्यसमिति बैठकले प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी कानूनी सल्लाहकार रमेश मैनालीलाई दिइएको छ ।

‘रवीन्द्र अधिकारी पर्यटन पुरस्कार’ स्थापना

टानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीको सम्मानमा रु ६० हजार राशिको ‘रवीन्द्र अधिकारी पर्यटन पुरस्कार’ स्थापना गरेको छ । कार्यसमिति बैठकले सर्वसम्मत् रुपमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । पुरस्कार साधारण सभामा दिइनेछ । पर्यटनकै गतिविधिमा क्रियाशील हुँदा विस २०७५ फागुन १५ गते ताप्लेजुङ्मा भएको हेलिकप्टर दुर्घटनमा परी दुःखद् निधन भएको थियो ।

टानले वितरण गर्ने पुरस्कारको छनोट गर्न पर्यटन व्यवसायी बोधराज भण्डारीको संयोजकत्वमा डम्बर पराजुली, पूर्णचन्द्र भुसाल, ङावा ङिमा शेर्पा र शीतलचन्द्र धरेल सदस्य रहेको समिति गठन गरेको छ । पुरस्कारमा नगद रु २५÷२५ हजार राशिको दुई जनालाई ‘टान पत्रकारिता पुरस्कार’ तथा रु ५० हजारको डा हर्क गुरुङ पुरस्कार, रु ५० हजारकै टान पासाङल्हामु पुरस्कार, रु १५ हजारको टान पेम्बा डोमा पुरस्कार र रु ६० हजार राशिको टान रवीन्द्र अधिकारी पर्यटन पुरस्कार रहेका छन् ।रासस

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार १७:००