८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

नेपाल राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

https://www.muktinathbank.com.np/online/loan-application

३१ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर रु १०० अङ्कित दरका १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो । उक्त शेयर खरीद गर्न इच्छुक बैँक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत सङ्गठित संस्थाले आगामी भदौ २ गतेभित्र बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।

नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआइडीसी क्यापिटल लिमिटेडको ६.१२ प्रतिशत र धितोपत्र दलाल व्यवसायीको ०.६२ प्रतिशत शेयर स्वामित्व रहेको छ । बैंकले प्रिमियमसहितको मूल्य तोकेको छ । यस आधारमा कूल शेयरको मूल्य रु एक अर्ब ७८ करोड ५३ लाख ४८ हजार ६४८ बराबर हुनेछ ।

बैंकले बिक्री गर्न लागेको शेयरको न्यूतनम मूल्य प्रतिशेयर रु एक हजार ३२ तोकिएको छ । तोकिएको वा सोभन्दा बढी मूल्य अङ्कित गरेरसमेत आवेदन दिन सकिने बैंकले जनाएको छ । सूचनामा भनिएको छ, ‘प्रतिकित्ता के कति दरमा खरीद गर्न कबुल गर्ने हो, त्यसको विवरणसहित गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ ।’

शेयर खरिदका लागि आवेदन गर्दा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको कूल शेयर पूँजीको कम्तिमा पाँच प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुने गरी प्रस्ताव पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

आवेदकको बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत सङ्गठित संस्थाले आफ्नो संस्थाको दर्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, शेयर खरीद गर्नेसम्बन्धी सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र आवेदक संस्थाका सञ्चालक तथा प्रमुखको व्यावसायिक विवरणसमेत पेश गर्नुपर्ने छ ।

प्राप्त आवेदन आगामी भदौ ४ गते बिहान केन्द्रीय बैंकको वित्तीय व्यवस्थापन विभागमा खोलिनेछ । बोलपत्र पेश गर्नका लागि नेपाल स्टक एक्स्चेन्जबाट घोषणा हुने लाभांश शेयर तथा लाभांश प्रस्तावित खरीद कर्ताले प्राप्त गर्नेछन् ।

बैंकका अनुसार शेयर खरीद बिक्रीको अन्य प्रक्रिया प्रचलित कानूनअनुसार हुने सूचनामा उल्लेख छ । खरीद कर्ताले आफूले खरीद गर्न चाहेको शेयरको प्रस्तावित कूल मूल्यको पाँचदेखि १० प्रतिशतसम्मको रकम केन्द्रीय बैंकको खातामा जम्मा गर्नुपर्ने छ ।

केन्द्रीय बैंकले लामो समयदेखि नै स्टकको शेयर बिक्री गर्ने घोषणा गरेको थियो । उक्त घोषणालगत्तै सम्पत्ति र शेयर संरचनाको मूल्याङ्कनसमेत गरिएको थियो । सोही आधारमा प्रिमियमसहितको शेयर मूल्य तोकिएको बैंकले जनाएको छ । वित्तीय क्षेत्र विकास रणनीति र नेपाल राष्ट्र बैंक ऐनअनुसार नै शेयर बिक्री गर्न लागिएको हो ।

प्रकाशित मिति : July 16, 2019 at 1:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/