५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

सुन तस्करी प्रकरणः न्यायाधीश उमेश सिंहको जागिर चट, कार्की र सापकोटाको बढुवा रोकियो

१७ असार, काठमाडाैँ । साँढे ३३ किलो सुन तस्करी र सनम शाक्या हत्या प्रकरणमा एक जना न्यायाधीशको जागिर चट भएको छ भने दुइ न्यायाधीशको बढुवा रोकिएको छ । न्याय परिषदले साँढे ३३ किलो सुनको अवैध चोरी निकास तथा सनम शाक्य हत्या प्रकरणको थुनछेकमा बदनियत गरेको अभियोगमा उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई बर्खास्त गरेको हो ।

सोमबार साँझ बसेको परिषद बैठकले सिंहलाई बर्खास्त गर्ने र अन्य दुइको बढुवा रोक्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।  प्रकरणमा जोडिएका अन्य दुई न्यायाधीशको दुई वर्ष बढुवा रोक्काको निर्णय भएको छ। कार्यशैलीप्रति सचेत गराउँदै न्यायाधीशद्वय थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा रोक्का गरिएको हो।

उच्चका आदेश र सुनुवाइ प्रक्रिया विवादित बन्दै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निर्देशनमा न्याय परिषदका तत्कालीन सचिव नृपध्वज निरौला नेतृत्वको टोलीले विराटनगर पुगेर अध्ययन गरेको थियो। अध्ययन प्रतिवेदन अनुसार परिषदले उच्चका आठ न्यायाधीशलाई माघदेखि काजमा राखेर अनुसन्धान प्रक्रिया थालेको थियो। पाँच महिनापछि छानबिन प्रक्रिया टुंगिएको छ ।

प्रकाशित मिति : 11:44