२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

घुस खाएर जागिर गुमाएका पाठकले भ्रष्टाचारको कमाइ नासु झाको नाममा लुकाएको खुलासा

१६ असार, काठमाडाैँ । कलेज सञ्चालकसँग घुस खाएर पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुसबाट कमाएको रकम नायव सुब्बा (नासु)को नाममा जम्मा गरेको खुलासा भएको छ । आयोगले अनुसन्धानका क्रममा पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा घुस खाएको रकम लुकाएको खुलेको आजको नागरिक दैनिकमा मातृका दाहालले समाचार लेखेका छन ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै सञ्चालक लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि आयुक्त पाठकले राजीनामा दिएका थिए। राजीनामापछि आयोगले २०७५ चैत १२ गते पाठकविरुद्ध ७८ लाख रुपैयाँ बिगो र कैद सजाय मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। न्यौपानेविरुद्ध पनि ७८ लाख बिगो र कैद सजाय मागसहित दायर मुद्दा विशेषमै विचाराधीन छ। आयोगले पाठकका नजिकका सहयोगीको समेत सम्पत्तिमाथि छानबिन गरिरहेको स्रोतले बतायो।

आयोगले पाठकविरुद्ध बहालमा छँदा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आशंकामा छानबिन गरिरहेको छ। छानबिनकै क्रममा नासु झा र उनकी पत्नी सुचितादेवीका नाममा पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति फेला परेको आयोग उच्च स्रोतले जानकारी दियो। आयोगले नासु झा र उनकी पत्नी सुचितादेवीलाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा अकुत सम्पत्ति आर्जन अभियोगमा १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ बिगो असुल, त्यति नै बराबर जरिवाना र कैदसजाय माग दाबीसहित मुद्दा दायर गरेको छ। आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेको समाचार

प्रकाशित मिति : July 1, 2019 at 7:52 am