१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

दोर्दीखोला जलविद्युत आयोजनाद्धारा स्थानीयलाई मुआब्जा नै नदिई पाइपलाइन विस्तार

१५ असार, लमजुङ । २७ मेगावाटको हिमालयन पावर पार्टनर लिमिटेडद्धारा संचालित दोर्दी खोला जलविद्युत आयोजनाले आफूहरुलाई मुआब्जा नै नदिई पाइपलाइन विस्तार गरेको भन्दै स्थानीयले आन्दोलन शुरु गरेका छन् । बेसीशहर नगरपालिका ११ चितिका स्थानीयले स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी (एफ्पिक) तथा अधिकार मञ्च सघर्ष समिति गठन गरेर आइतबार नारा जुलुशसहित दोर्दी खोला जलविद्युत आयोजनाको कार्यालय घेराउ गरे ।

उनीहरुले मुआब्जाको विषयलाई लिएर आफ्नो जग्गामा पर्ने बाटो नै बन्द गरिदिएका छन् । समस्या समाधान नभएसम्म उनीहरुले बाटो नखोल्ने बताएका छन् । उनीहरुले पीडितलाई सत्प्रतिशत क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने, छरछिमेक कार्यक्रमको बजेट पारदर्शी हुनुपर्ने, ईआईए रिपोर्ट नेपाली भाषामा हुनुपर्ने, पानी मुहानको पहिचान गरेर प्रभावित स्थानीयलाई खानेपानी र सिंचाईको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् । १५ मिटर जग्गा प्रयोग गर्ने भनी स्थानीयसँग सम्झौता गरेपनि आयोजनाले ३०/४० मिटर जग्गा अतिक्रमण गरको छ ।

पहिरोले गर्दा कतिपय घरहरु उच्च जोखिम परेका छन् । जलविद्युत आयोजनालाई धेरै पटक मुआब्जाको विषयमा जानकारी गराउँदा पनि कुनै चासो नदिएकोे स्थानीयहरुको गुनासो छ । आफ्नै घर छेउँमा धमाधम निर्माण भइरहेका आयोजनाहरुले आफूहरुको मुहार उज्यालो बनाउनु भन्दा थप पीडा दिएको स्थानीयले बताएका छन् । जलविद्युत आयोजनाले भने अतिक्रण भएको ठाउँमा स्थानीय र आयोजनाबीच समन्वय गरेर मुआब्जा दिने बताउँदै आएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आईतवार २०:०१