१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

कांग्रेसको असहमतिकाबीच अर्थ विधेयक बहुमतले पारित

९ असार, वुटवल । प्रदेश नं ५ प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६ आज बहुमतले पारित भएको छ । उक्त विधेयकमा विपक्षी दल नेपाली काङ्ग्रेसले असहमति जनाए पनि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको घोषणा गर्नुभयो । विधेयक पारित भएसँगै प्रदेश सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । मुख्यमन्त्री तथा आर्थिक योजनामन्त्री शङ्कर पोखरेलले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसअघि आइतबार प्रदेश विनियोजन विधेयक २०७६ सर्वसम्मतिले पारित भएको थियो । अर्थसम्बन्धी विधेयकको जवाफ दिँदै मुख्ययमन्त्री पोखरेलले सीमित विषयमा मात्रै राजश्व प्राप्त गर्ने विषय भएकाले सवारी साधनबाट बढी राजश्व सङ्कलन भएको बताउनुभयो ।

चलचित्र, नाटकघर, मनोरञ्जनलगायतमा पाँच प्रतिशत कर लाग्ने जानकारी दिनुभयो । घर जग्गा कर रजिष्टे«शन शुल्क वृद्धि नभएको र थप सहुलियत दिन खोजिएको उहाँले प्रष्ट पार्नुभयो । सो अवसरमा विषेश समय माग्दै नेपाल कम्युनिष्ट पार्टीका सचेतक भूमिश्वर ढकालले स्थानीय पालिकाले लगाएको करमा जन गुनासो आएकोले सम्बोधन गरेर कतिपय कर हटाइएको बताउनुभयो ।

प्रदेशसभा सदस्य कृष्णा केसीले बाँकेको नरेनापुर डुबानमा परेको, घर भत्केको र हुलाकी राजमार्गको पुल तथा कल्भर्टमा समेत क्षति पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य फकरुद्दिन खानले रुपन्देहीको गैडहवा गाउँपालिकाको हसनापुरमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको घटनाबारे सदनलाई जानकारी गराउँदै दोषीमाथि कारवाहीको माग गर्नुभयो । सो अवसरमा प्रदेशसभा सदस्य दीपेन्द्र पुनमगर, तारा जिसी, अष्टभूजा पाठकलगायतले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

प्रकाशित मिति : ९ असार २०७६, सोमबार १८:०७