१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा पुष्प कडेँल ! को हुन कडेँल ?

२७ चैत, काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा पुष्प कडेँललाई नियुक्त गर्ने तयारी सरकारले गरेकोछ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपत्र कडेँललाई योजना आयोगको उपाध्यक्षमा नियुक्तिको तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । एमालेका थोरै इमान्दार नेताको सूचीमा अग्रपंक्तिमा रहेका कडेँल दोस्रो कार्यकलका लागि पार्टीको केन्द्रीय लेखा आयोगको अध्यक्ष छन । कडेँल धेरै चलखेल नगर्ने भएका कारण महत्वपूर्ण अवसरबाट बञ्चित हुँदै आएका छन । यसपटक ओलीले योजना आयोगको उपाध्यक्षमा कडेँललाई ल्याउन चाहेको बुझिएको छ ।

नियुक्तिमा ढिलाइको कारण
कडेँल समानुपातिक सांसदको सूचीमा एमालेको बन्द सूचीमा रहेका छन । उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्न उनको नाम बन्द सूचीबाट हटाउनु पर्ने भएकाले त्यसका लागि सरकारले नियुक्तिमा ढिलाइ गरेको छ । कडेँलले दैनिकीसँग कुरा गर्दै समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम झिकिदिन पार्टी नेतृत्वलाई आग्रह गरिसकेको बताए । तपाई योजना आयोगको उपाध्यक्ष बन्न लाग्नु भएको हो भन्ने दैनिकीको प्रश्नमा कडेँलले भने ‘म पार्टीको मन्छे हुँ मैले बन्छु भनेरमात्र हुँदैन पार्टीले जिम्मेवारी दियो भने सफल रुपमा भूमिका निर्वाह गर्छु । तर मैले मलाई यो पद वा त्यो पद दिनुस भनेर पार्टी नेतृत्वलाई भनेको छैन ।’

के हुन कडेँल ?
स्थायी समितिमा रहेका नेताहरु मध्ये डा. पुष्प कँडेल मात्र यस अघि सांसद नभएका मात्र हैनन् कुनै पनि सार्वजनिक नियुक्ति नलिएका नेता हुन् । कँडेल २०४९ सालमा पहिलोपटक पार्टीको आन्तरिक लेखा प्रणालीलाई व्यवस्थित गर्न बनेको केन्द्रीय लेखा आयोगमा सदस्य भए यता निरन्तर पार्टीको केन्द्रीय तहमा जिम्मेवारी संहाल्दै आएका नेता हुन् । लेखा आयोगमा दुई कार्यकाल सदस्य एक कार्यकाल सचिव र पार्टीको आठौं र नवौं महाधिवेशनबाट दुई कार्यकाल निर्वाचित अध्यक्ष र स्थायी समितिमा आमन्त्रित सदस्य छन् ।

पार्टीको ८ औं राष्ट्रिय महाधिवेशन (बुटवल महाधिवेशन) मा संघीयताको विपक्षमा फरक मत दर्ज गरेर चर्चामा आएका कँडेल केपी ओलीको टीमका थिंकट्यांक हुन् । पार्टीमा नरम स्वभाव र सतहमा देखिनेगरी गुटबन्दीमा नलाग्ने उनी बुटवल माधिवेशन देखि ओलीको खास टीममा रहँदै आएका छन् ।

त्रिविमा व्यवस्थापन संकायका प्राध्यापक उनी ३२ वर्ष प्राध्यापन सेवा गरेका अनुभवी र बौद्धिक नेता हुन् । कर प्रशासनमा विद्यावारिधी गरेका अर्थविद् कँडेल आर्थिक विश्लेषक हुन् । यस अघि केपी ओली प्रधानमन्त्री हुँदा सांसद नभएकै कारण मन्त्री हुन नसकेका उनी राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष बन्ने चर्चा पार्टी कार्यकर्ताकाबीचमा थियो । तर त्यसबेला योजना आयोगमा डा. युवराज खतिवडालाई मनोनित गरेपछि कँडेललाई प्रधानमन्त्रीको आर्थिक सल्लहकारको रुपमा मनोनित गर्ने चर्चा थियो । ओली निकट नेताले यस्तो तयारी सुनाउँदा उनले आफु अवैतनिक रुपमा सल्लाह दिने र पार्टी काममै व्यस्त रहने भन्दै अनिच्छा प्रकट गरेका थिए ।

पाँच कार्यकाल केन्द्रीय लेखा आयोगमै विताएका कँडेल आफुलाई पार्टीले विश्वास गरेर दुई पटक लेखा आयोगको अध्यक्षमा पुर्याएकोमा गर्व गर्छन् । उनी पार्टीले उपयुक्त ठानेर राष्ट्र सेवा गर्ने मौका दिनेमा अझै आशावादी देखिन्छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०७:५३