९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

राजपुरमा दादुराको महामारी

१५ वैशाख, लमही । दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिनुभयो । एक महीनाअघिदेखि शुरु भएको उक्त रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलगायत सरोकारवालाको टोलीले छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने पनि निर्णय गरेको थियो ।

“लामो समयदेखि गाउँपालिकामा महामारीका रुपमा फैलिएको दादुरा अझै नियन्त्रणमा आउन सकेको छैन”, उहाँले भन्नुभयो, “यसलाई न्यूनीकरण गर्न विशेषज्ञसहितको टोलीले छलफलबाट दादुराविरुद्धको खोप लगाउने निर्णय गरेको हो । शाखाप्रमुख रोकाका अनुसार यही वैशाख १६, १७ र १८ गते वडा नं ३, ४ र ५ का विभिन्न वडामा बालबालिकालाई खोप लगाइने भएको छ भने १६ गते वडा नं ४ का दुई स्थानमा, १७ गते ४ का तीन स्थानमा, १८ गते ३ र ५ का दुई स्थानमा खोप लगाइने छ ।

वडा नं ४ मा दादुराको सङ्क्रमण देखिएकाले नजीकका बस्तीमा फैलन सक्ने भन्दै वडा नं ३ र ५ मा पनि दादुराविरुद्धको खोप लगाउन लागिएको हो ।  उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनका डा पवन उपाध्याय, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत डा भरत भण्डारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डित, युनिसेफ भैरहवाका शिव सुवेदीलगायतको टोलीले तयारी गरिरहेको उहाँले बताउनुभयो ।

यसअघि पटक–पटक गाउँपालिकामा दादुराविरुद्धको खोप लगाउने अभियान चले पनि उहाँहरुले बच्चालाई खोप नलगाउँदा यस्तो समस्या निम्तिएको शाखाप्रमुख रोकाको भनाइ थियो । त्यहाँका बालबालिकामा दादुराको लक्षण देखिएपछि विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा उपाध्यायको टोलीले आठ जनाको नमूना सङ्कलन गर्दा दादुरा भएको पुष्टि गरेको थियो । गाउँपालिकामा गाभिनुअघि सो वडा पूर्ण खोप सुनिश्चित गाविस थियो ।

पूर्ण खोपयुक्त गाविस भएको ठहर गरेपछि गरिएको सर्वेक्षणमा सबैले खोप लगाएको भनिए पनि धेरै बालबालिका छुट्नु विडम्बना भएको डा उपाध्यायले बताउनुभयो । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत डा भरत भण्डारीले राजपुरमा दादुरा देखिएकामध्ये अधिकांश खोप नपाएका बालबालिका रहेको बताउनुभयो ।

प्रकाशित मिति : April 28, 2019 at 11:04 am