लोकतन्त्र टिकाउन सबै लागाैँः पूर्व प्रधानमन्त्री खनाल
७ वैशाख, इलाम । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आज इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजित नेपाल पत्रकार महासङ्घ प्रदेश नंं को पार्षद् भेलामा पूर्व प्रम खनालले पत्रकारिताले राष्ट्र निर्माणमा महत्वपूर्ण भमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रलाई बलियो बनाउनु, राष्ट्रियतामा आँच आउन नदिनु, सुशासन, दिगो विकास र सांस्कृतिक विषयवस्तुको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता समेत रहनुभएका खनालले सुशासनबिना मुलुक अघि बढ्न नसक्ने भन्दै बन्द, हडताल र आतङ्कबाट समेत सबै त्रसित बनाउन बन्द गर्नुपर्ने बताउनुभयो । अहिले मुलुकको लोकतन्त्रमाथि नै प्रश्न उठाउन थालिएको भन्दै उहाँले अब लोकतन्त्र टिकाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै छिमेकी राष्ट्रसँग समेत समान व्यवहार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । मुलुक स्वाधीन र स्वतन्त्र राष्ट्र भएको भन्दै हाम्रा भू–भाग र क्षेत्रफलका बारेमा आवाज उठाउन सक्नुपर्नेमा खनालले जोड दिनुभयो । ‘‘दिगो विकास नभएसम्म कुनै पनि हालतमा हामी समृद्धिको बाटोमा पुग्न सक्दैनौं’’, उहाँले भन्नुभयो,“हामीले हाम्रा संस्कृतिको जर्गेनामा लाग्दै सुशासनको बाटोतर्फ लम्किनुपर्छ ।” कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, प्रदेश सांसदसमेतको सहभागिता रहेको छ । महासङ्घको भेला भोलिसम्म चल्नेछ । रासस
प्रकाशित मिति : April 20, 2019 at 4:35 pm









